नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश सभातर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा निर्वाचन आयोगले तोकेर पठाएको क्लस्टर र प्राथमिकता अनुसार नाम पठाउने निर्णय गरेको छ।
शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले क्लस्टर अनुसारको सूची पठाउने निर्णय गरेको पार्टी महासचिव डा. बेदुराम भुसालले जानकारी दिनुभयो।महासचिव भुसालका अनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी, लक्ष्मी देवी, बागमती प्रदेशमा मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठको नाम पठाइएको छ।
त्यसैगरी लुम्बिनी प्रदेशबाट भगवती अधिकारी, कर्णाली प्रदेशबाट कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशबाट माया पन्तको नाम पठाएको हो। प्रतिनिधिसभातर्फ तीन प्रतिशत थ्रेस होल्ड काटाउन नसकेको समाजवादी पार्टीले प्रदेश सभामा भने समानुपातिकतर्फ केही सिट पाएको छ।