हिपमत डटकम

शनिबार, मंसिर २४, २०७९ || 1065  पटक पढिएको

 कतार विश्वकप फुटबल प्रतियोगितामा मोरक्कोको क्वाटरफाइनल यात्रा परी कथाभन्दा कम छैन। दुई दिनअघि मात्र उपाधिको दावेदार मानिएको स्पेनलाई टाइब्रेकरमा ३–० ले हराएर मोरक्को विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने अफ्रिकी मुलुक  बनेको थियो। मोरक्को यस विश्वकपको अन्तिम आठमा पुग्ने युरोप र दक्षिण अमेरिकी राष्ट्रबाहेकको एक मात्र टिम हो। यसअघि मोरक्कोले बेल्जियम र क्रोसियाजस्ता टिम भएको समूह जितेर नकआउटमा स्थान बनाएको थियो तर मोरक्को अब शानदार लयमा रहेको क्रिस्टियानो रोनाल्डोका टिम पोर्चुगलसँग सामना हुँदैछ जुन सो मुलुकका लागि अग्निपरीक्षा हुनेछ। युरो च्याम्पियन भइसकेको पोर्चुगल विश्वकपको अन्तिम आठमा मात्र तेस्रो पटक खेल्दैछ।

मोरक्कोविरुद्धको खेलमा रोनाल्डोले पहिलो रोजाइमा खेल्ने पक्का छैन। यद्यपि रोनाल्डोबिना पनि पोर्चुगलले आफू कतिको बलियो छ भनेर क्वारफाइनलमा स्विट्जरल्यान्डजस्तो स्तरीय टिमलाई ६–१ ले हराएर देखाइसकेको छ। रोनाल्डोको स्थानमा खेलेका २१ वर्षीय गोन्कालो रामोसले ह्याट्रिक गर्नुभयो। जसले रोनाल्डोको राष्ट्रिय टिममा स्थान नै पहिलो पटक खतरामा परेको छ।

अफ्रिकी टिम भए पनि मोरक्कोको खेलमा युरोपेली स्वाद छ। मोरक्कोको टिममा रहेका २६ मध्ये १४ टिम विदेशमा जन्मेका हुन्। मोरक्कोको प्रशिक्षक वालिद रेग्रागुइ पनि फ्रान्सेली हुनुहुन्छ। मोरक्कोले अहिलेसम्म यस प्रतियोगितामा एक गोल मात्र बेहोरेको छ। क्यानाडाविरुद्ध बेहोरेको सो गोल पनि आत्मघाती थियो। असरफी हकिमी, हाकिम जीएच सोफियन बाउपल र स्ट्राइकर युसुफ इन नेस्रीको लय कायम रहेमा मोरक्कोको अर्को ठूलो सिकार पोर्चुगल नहोला भन्न सकिन्न। मोरक्कोको अहिलेको चिन्ताको विषय भनेको कप्तान रोमन साइस पूर्ण रूपमा फिट नहुनु हो। स्पेनविरुद्धको खेलमा उहाँले दुखाइ कम गर्ने इन्जेक्सन लगाएर खेल्नुभएको थियो। सेन्टर ब्याक नाइफ अगुवार्डलाई पनि तिघ्रामा चोट लागेको थियो।

पोर्चुगल भने चोटमुक्त देखिएको छ। स्पेनविरुद्ध रोनाल्डो, जोआओ क्यान्सेलो र रुवेन नेभेसजस्ता खेलाडी बेञ्चमा रहनुले पनि पोर्चुगलका टिमको गहिराइ थाहा पाउन सकिन्छ।

इङ्ग्ल्यान्ड र फ्रान्स बराबरीको टक्कर

कतार विश्वकपको अन्तिम आठमा गत विजेता फ्रान्स र इङ्ग्ल्यान्डबीच भिडन्त हुँदा सो खेल फाइनलभन्दा कम हुने छैन। फ्रान्स र इङ्ग्ल्यान्ड दुवै उपाधिका प्रमुख दाबेदार हुन्। यस विश्वकपमा यी दुई टिमको प्रदर्शनले सो खेलमा स्पष्ट जितको दावेदार छान्न सक्ने स्थिति पनि छैन।

यी दुवै टिम आ–आफ्नो समूह र प्रिक्वाटरफाइनल सजिलै जितेर क्वाटरफाइनलमा पुगेका हुन्। विश्वकपमा यी दुईबीचको इतिहास हेर्ने हो भने इङ्ग्ल्यान्डले फ्रान्सविरुद्ध खेलेका दुवै खेल जितेको छ तर सबैखाले प्रतियोगितालाई मध्यनजर गर्ने हो भने यी दुई राष्ट्रबीच भएको पछिल्ला आठ खेलमा फ्रान्सले एक खेल मात्र हारेको छ।

यस विश्वकपमा इङ्ग्ल्यान्डबाट गोलका वर्षा भइरहेको छ। इङ्ग्ल्यान्डले चार खेलमा १२ गोल गरेको छ। आक्रमण मात्र होइन गोल रोक्ने पक्षमा पनि इङ्ग्ल्यान्डले प्रभावित पारेको छ। गोलरक्षक जोन पिकफर्ड र सेन्ट्रल डिफेन्डरद्वय हेरी म्यागुएर र जोन स्टोन्सको प्रेरणामा इङ्ग्ल्यान्डले पछिल्ला तीन खेल क्लिन सिट राखेको छ। तर इङ्ग्ल्यान्डले भोलि चालू विश्वकपमा सर्वाधिक पाँच गोल गरिसकेका किलियन एमबापेको सामना गर्दैछ। एन्टोनी ग्रिज्म्यान र ओसमान डेम्बेलेको साथमा एमबापे निकै खतरनाक देखिनुभएको छ।

डिडियर डेस्चाँको प्रशिक्षकत्वमा रहेको फ्रान्स विश्व विजेता हो। एमबापेलाई रोक्ने जिम्मा काइल वाल्करमा हुनेछ । उहाँले भन्नुभएको छ, “हामी विश्व च्याम्पियनविरुद्ध खेल्दै छौँ तर दुवैको स्तरमा फरक छैन। तपाईंहरूले भोलि ९० मिनेटमा गजबको खेल देख्न पाउनुहुनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!