हिपमत डटकम

मंगलबार, मंसिर २०, २०७९ || 1312  पटक पढिएको

नेकपा माओवादी केन्द्रका मधेस प्रदेशका विभिन्न नेताले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । गोरखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका अध्यक्ष प्रचण्डलाई बधाई दिन तराईका विभिन्न जिल्लाबाट आएका नेताहरु उनकै निवासमा पुगेका हुन् ।

 

उनीहरुले अध्यक्ष प्रचण्डलाई खादा र माला लगाएर बधाई तथा शुभकामना दिए । सो अवसरमा चुनावको समीक्षासमेत भएको थियो । मधेसबाट आएका माओवादी केन्द्रका नेताहरुले सात वटा प्रदेशमध्ये मधेसमा पार्टी सबैभन्दा कमजोर भएको टिप्पणी गरेका थिए ।

उनीहरुले पार्टीको अवस्था कमजोर हुनुमा माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र मातृका यादवलाई दोषी देखाएका छन् । श्रेष्ठ र यादवबीचको गुटबन्दीका कारण मधेसमा पार्टीको संगठन नाजुक बनेको उनीहरुको गुनासो थियो ।

भेटघाटमा सहभागी एक नेताले रातोपाटीसँग भने, ‘मधेसको परिणामप्रति कमरेड प्रचण्ड निकै चिन्तित हुनुहुन्थ्यो, यो अवस्था किन आयो भन्ने कुरा पनि उहाँलाई थाहा छ तर भेटमा धेरैथरी मान्छे भएका कारण उहाँले खुलेर बोल्नु भएन । मधेसको संसदीय राजनीति चरम गुटबन्दीकै कारण भएको भन्ने कुरा उहाँको बडी ल्याङ्ग्वेजबाट थाहा हुन्थ्यो ।’

ती नेताका अनुसार मधेस प्रदेशबाट आएका विभिन्न नेताहरुले नारायणकाजी श्रेष्ठ र मातृका यादवको नामै लिएर प्रचण्डसमक्ष गुनासो गरेका थिए । अहिले समानुपातिकमा रहेका नामप्रति पनि उनीहरुको गुनासो थियो ।

समानुपातिको बन्द सूचीमा आएका नाम एउटै गुट र एउटै जातीको देखिन्छ । पार्टीमा योगदान दिएका तथा समाजमा राम्रो छवी भएका व्यक्तिभन्दा आआफ्ना गुटका तथा जातीका व्यक्तिलाई समानुपातिकमा राखेको गुनासो ती नेताको थियो ।

पार्टीमा नामै नसुनेका व्यक्तिहरुको नाम प्रदेश र संघमा समानुपातिकमा परेको भन्दै उनीहरुले यसमा पार्टीले पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन् । मधेस प्रदेशमा सामानुपातिकको प्राथमिकतामा रहेकामध्ये अधिकांश नारायणकाजी र मातृका गुटका छन् । पार्टीमा योगदान दिएका नेताहरु धेरै पछाडि परेको र गुटबन्दीकै कारण उनीहरुलाई सांसद बनाउन गाह्रो हुँदै गएको नेताहरुको भनाइ थियो ।

त्यसको प्रतिक्रियामा अध्यक्ष प्रचण्डले सुरुमा समानुपातिक उम्मेदवार छनौट गर्दा मसिनो गरी ध्यान दिन नसकेका कारण कतिपय ठाउँमा त्रुटि भएको स्वीकार गरेको नेताहरुको भनाइ छ । अब कानुन अनुसार त्यसलाई सच्याउन गाह्रो हुने भए पनि कतै मिलाउने ठाउँ छ भने सक्दो प्रयास गर्ने भनेर प्रचण्डले आश्वासन दिएको भेटमा सहभागी एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!