हिपमत डटकम

बुधबार, मंसिर १४, २०७९ || 17540  पटक पढिएको

मङ्सिर १४ गते । नेपाली वायुसेवालाई एभिएसन सेफ्टी लिस्ट (सुरक्षा सूची)मा राख्दै आएको युरोपेली सङ्घ (ईयू)को प्राविधिक टोली पुनः नेपाल आउने भएको छ । ईयूले पछिल्लो पटक सार्वजनिक गरेको सुरक्षा सूचीमा नेपाललाई निरन्तरता दिएको ईयूमातहतको एभिएसन सेफ्टी एजेन्सी (आयसा)ले स्थलगत परीक्षणका लागि अर्को टोली नेपाल पठाउन लागेको हो ।

नेपालको उड्डयन क्षेत्रको स्थलगत अध्ययन गर्न ईयूको ‘टेक्निकल को–अपरेसन टिम’ यसअघि असोज २० गते नेपाल आएको थियो । स्थलगत अध्ययनमा आएको उक्त टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रको अध्ययन गरेर फर्किएको थियो । स्थलगत मूल्याङ्कन भ्रमणका लागि पुनः दुई महिनाभित्र ईयूको टोली नेपाल आउन लागेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ईयूले नोभेम्बरका लागि अपडेट गरेको एयर सेफ्टी लिस्टमा नेपालमा दर्ता भएका वायुसेवा कम्पनी समावेश भए तापनि नेपालको पछिल्लो हवाई सुरक्षा अवस्थाबारे अपडेट गर्न बाँकी छ । अब आउने टोलीले गर्ने स्थलगत अध्ययन तथा निरीक्षणबाट नेपाल हवाई सुरक्षा सूचीबाट हट्नेबारे निर्णय हुनेछ ।”

प्राधिकरणले संशोधन गरेको नयाँ नियमावली कार्यान्वयनको अवस्था तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालको वर्तमान उडान सम्परीक्षण क्षमताको मूल्याङ्कन अब हुने ईयूको टोलीको भ्रमणपछि अद्यावधिक गरिने उहाँले बताउनुभयो ।

ईयूको प्रमुख चासोमध्ये एक प्राधिकरण विभाजन गरी सेवा प्रदायक र नियामक बनाउनुपर्ने रहेकाले नियामकका कर्मचारी सेवा प्रदायक र सेवा प्रदायकतर्फका कर्मचारी नियामकतर्फ जान नपाउनेबारे उड्डयन प्राधिकरणले गरेको तयारीबारे ईयू विश्वस्त रहेको उहाँको भनाइ छ ।

नेपालले हवाई सुरक्षामा विश्वस्तरको मापदण्डअनुरूप उल्लेखनीय प्रगति हासिल गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हवाई दुर्घटना न्यूनीकरणसम्बन्धी नियमावलीको मस्यौदा र हवाई सुरक्षासँग जोडिएका नियमसमेत संशोधनसँगै नेपालले हवाई उडानको सुरक्षामा सुधार, प्रविधिमा सुधार, सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड र नेपालको हवाई सुरक्षाको प्रतिबद्धता कार्यान्वयनमा ध्यान दिएको छ ।” पछिल्लो पटक नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेको र नेपालको उडान सुरक्षा दर विश्वको औसतभन्दा माथि रहेकाले पनि चाँडै नेपाल उडान सुरक्षा सूचीबाट हट्ने उहाँले बताउनुभयो ।

आइकाओले गरेको पछिल्लो अडिटमा नेपालको हवाई क्षेत्रमा उल्लेख्य प्रगति भएको देखाएको थियो । आइकाओले उडान सुरक्षा अडिटमा विश्वको औसत उडान सुरक्षा दर ६७ र एसिया तथा प्रशान्त दर ६३ प्रतिशत रहेको सन्दर्भमा नेपालले हवाई उडानको इतिहासमै पहिलो पटक ७०.१ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

ईयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै उडान सुरक्षा सूचीमा राखेको छ । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीमा रहेकोमा सन् २०१७ जुलाईमा सो भने हटिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!