हिपमत डटकम

शनिबार, मंसिर १०, २०७९ || 17690  पटक पढिएको

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावको परिणाम रहस्यमय रहेको बताएका छन् ।

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतबाट पराजित भएका जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनावको परिणाम आएपछि पहिलो पटक प्रतिक्रिया दिँदै भने, ‘चुनावमा भएका आन्तरिक र बाह्य षडयन्त्रको सुईको मैले पनि पाएको छु । यसको पनि मूल्याङ्कन हुने नै छ । र, कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन । यस चुनावको परिणाम रहस्यमयी रहे तापनि हामी जनताको निर्णयको सम्मान गर्दछौँ ।’

चुनाव एउटा राजनीतिक प्रक्रिया रहेको उल्लेख गर्दै उनले जसमार्फत जनताले आफ्नो प्रतिनिधि छान्नेको छ त्यसलाई आफ्नो साथ सहयोग रहने प्रतिक्रिया दिएका छन् । निर्वाचनको नतिजाले आफूहरुको यात्रालाई कुनै असर नपार्ने बताउँदै उनले एक इन्च पनि तलमाथि नभईकन जनताको म्यान्डेट अनुसार आफ्नो मिसनमा लागिरहने प्रतिवद्धता जनाए ।

यो संविधान त्रुटिपूर्ण र त्यसमा असमानताहरू रहेको बताउँदै उनले अझै पनि सङ्घीयता वास्तविक रूपमा सङ्घीयता जस्तो हुन नसकेको दावी गरेका छन् । प्रदेशलाई अधिकार सम्पन्न र बलियो बनाउन सकिएको छैन, हरेक समुदायले जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गर्न पाउने अधिकार सुनिश्चित नभएको बताउँदै उनले यस संविधानले विभिन्न राष्ट्रियता जातीय समुदायहरूको पहिचानलाई सम्बोधन गर्न नसकेको बताए ।

संविधानले बहुभाषिक नीतिलाई अवलम्बन गरी अभ्यासमा ल्याउन नसकेको उल्लेख गर्दै उनले यस संविधानले अझै पनि गलत शासकीय स्वरूपलाई अंगालेको बताए । उनले भने, ‘यो संविधानले विकृति मूलक निर्वाचन प्रणाली अपनाएको छ । स्वतन्त्र न्यायालय भए तापनि न्यायालयसम्म सबै नागरिकको पहुँच हुने गरी संरचना बनाउन सकिएको छैन । जसले गर्दा न्याय पाउने आधारभूत अधिकारबाट आज पनि लाखौँ जनता वञ्चित हुनुपरेको छ । त्यसैले संविधान संशोधन र परिवर्तनको लागि हामी अझै पनि सङ्घर्षरत छौँ ।’

अबको प्रयास भनेको प्राप्त उपलब्धिहरूको संरक्षण र बाँकीको लागि सङ्घर्ष गर्दै आर्थिक उन्नती मार्फत समतामूलक विकासकै लागि रहने भन्दै उनले मधेस विश्वविद्यालय, मधेस प्रदेश कृषि विश्वविद्यालय, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज र ईन्जीनियरिङ कलेज, सडक सञ्जाल, शिक्षामा छात्राहरूको पहुँच लगायतका प्रयासहरू यसै उद्देश्य पूर्तिको पूर्वाधारहरू रहेको बताएका छन् ।

निरङ्कुश शासनको विरुद्धमा वामपन्थी राजनीतिक धारबाट प्रेरित भई विद्यार्थी राजनीतिमार्फत सङ्घर्ष सुरु गरेको उल्लेख गर्दै अध्यक्ष यादवले २०३२ सालको विद्यार्थी आन्दोलनमा सक्रियतापूर्वक भाग लिएकोले तत्कालीन शासकहरूको आदेशमा पहिलो पटक जेल परेको बताएका छन् ।

२०३६ सालको विद्यार्थी आन्दोलनमा पनि सकृय भूमिका निर्वाह गर्ने अवसर पाएको उल्लेख गर्दै उनले वामपन्थी राजनीतिमार्फत अगाडि बढ्दै जाँदा विभिन्न अवरोधहरूको पनि सामना गर्नुपरेको उल्लेख गरेका छन् । २०४२ सालमा पञ्चायती व्यवस्थाको विरुद्धमा लोकतन्त्र बहालीको लागि लड्ने क्रममा काठमाडौँको केन्द्रीय कारागारमा र २०४६ सालमा आन्दोलनको क्रममा विराटनगरबाट पक्राउ परि धनकुटा जेलमा बन्दी जीवन बिताएको स्मरण गर्दै अध्यक्ष यादवले देशमा बहुदलीय व्यवस्था आइसक्दा पनि मधेसी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम लगायतका सीमान्तकृत समुदायहरू या बहिष्करणमा पारिएका समुदायहरूको पहिचान, अधिकार, प्रतिनिधित्व, समावेशिता लगायतका सवालहरू सम्बोधन हुन नसक्दा त्यसका लागि पनि संघर्ष गरेको बताए ।

मधेशी समुदायलाई विदेशी, धोती, बिहारी जस्ता अपमानजनक शब्दहरू प्रयोग गरी सम्बोधन गर्ने कार्यहरू हुँदै थियो र उनीहरू अपमानित र अपहेलित जीवन बिताउन बाध्य थिए । त्यसको विरुद्धमा एउटा लडाई अपरिहार्य रहेको महसुस गर्दै तत्कालीन मधेसी जनाधिकार फोरमको नेतृत्वमा ऐतिहासिक मधेस जनविद्रोहको सुरुवात गरेको उनले बताए ।

मधेसी जनाधिकार फोरमको अध्यक्षको हैसियतले आफूले नेतृत्व गरेको मधेस जनविद्रोह सफलतापूर्वक अगाडि बढ्को छर संविधान सभाभित्र र बाहिर रहेर देशको सम्पूर्ण वर्ग र समुदायले स्वामित्व ग्रहण गर्ने संविधान जारी गर्ने अन्तिम समयसम्म पनि संघर्ष गरेको उनले स्मरण गरे । त्यही संघर्षका कारण यतिसम्मको संविधान बन्न नसकेको बताउँदै उनले आज संघीयता, गणतन्त्र, समावेशिता, मौलिक हक र सामाजिक न्याय जस्ता उपलब्धिहरू ऐतिहासिक मधेस जनविद्रोहकै देन रहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!