हिपमत डटकम
काठमाडौं ,मंसिर १९ ।
नेपाली भूमी समेत समेटेर भारतले हालै जारी गरेको नक्साका बारेमा भारतसंग औपचारीक कुराकानी गर्न जान लागेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण तत्कालका लागि रोकिएको छ । उनी नेपालका तर्फवाट विशेष दुत बनेर भारत जान लागेका थिए । भारत गएर उनले प्रत्यक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुराकानी गर्ने कार्यक्रम थियो । तर भारतीय पक्षले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि समय नदिएपछि तत्कालका लागि उनको भारत भ्रमण रोकिएको हो।
‘विशेष दूतले कार्यकारी प्रमुखसँगै भेट गर्नुपर्ने हुन्छ’, स्रोतले भन्यो, ‘तर, अहिलेसम्म भारतीय पक्षले समय दिएको छैन।’ नेकपा सचिवालय बैठकले यस विषयलाई ग म्भिर रुपमा लिएर वरिष्ठ नेता माधव नेपाललाई विशेष दुतका रुपमा पठाउने निर्णय गरेको थियो । मंसिर ४ गतेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । छलफल अनुसार नै वरिष्ठ नेता नेपालले प्रक्रिया अगाडि सारेका थिए। यो विषयमा भारतीय पक्षले समय नदिएपछि बुधबारको सचिवालय बैठकमा माधव नेपालले ब्रिफिङ गरेका हुन्। नेकपा सचिवालय बैठकमा समय मिलाउने प्रयास भइरहेकको नेता नेपालले बताएका छन्।
नेपालबाट जाने विशेष दूतसँग भेटवार्ताको समयका लागि परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको छ। नेपाल भारत सीमा विवा द समाधानका लागि प्रधानमन्त्री केपी ओलीले कात्तिक २३ गते सर्वदलीय बैठक गरेका थिए। बैठकमा सबै नेताले राष्ट्रियताको विषयमा एकजुट हुनुपर्नेमा जोड दिएका थिए। भारतीय नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा परेपछि त्यसको विरो ध भइरहेको छ। सरकारले भने यो समस्या समाधानका लागि भारतसँग कूटनीतिक पहल सुरु गरेको हो।