आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतितिधिसभा सदस्यको निर्वाचनमा पर्सा क्षेत्र नं. २ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नरेश कुमार साह भारतीय नागरिक रहेको भन्दै राप्रपा वीरगंज नगर कमिटी नै राजीनामा दिएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि कमल थापाको लाइनमा लागेर भारतीय नागरिकलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेर राप्रपाका वीरगंज महानगर समितिका अध्यक्ष जलेश्वर सर्राफ पुरै दल–बलसहित नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग टिका माला लगाएर शुक्रवार जलेश्वर सर्राफ सहितका नेताकार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्ग्देनलाई आफुले कैयौँ पटक सच्चिन आग्रह गर्दा समेत आफ्नो क्षेत्रमा दोहोरो नागरिक नरेश साहलाई प्रतिनिधिसभाका उम्मेदवार बनाएपछि चित्त नबुझेर आफुहरुले पार्टी परित्याग गरेको सर्राफले बताए ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका भातृ संगठन राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन पर्साका जिल्ला अध्यक्ष राजाबाबु प्रसाद चौरसिया समेत पार्टी परित्याग गरी आफ्नो सम्पूर्ण संगठनका सदस्य समेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पर्सा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको लागि राप्रपाबाट हलो चुनाव चिन्ह लिएर उम्मेदवार नरेश साह मतदाताहरु बीच गए पनि उनी भारतीय रहेको जान्नेहरु उनलाई भोट नदिने दाबी गर्दै आएका छन् ।
“आफुहरुले भारतीय नागरिकलाई भोट दिएर जिताए पनि कुन बेला उनको नेपाली नागरिकता खारेज हुने हो पत्तो छैन” वीरगंज महानगरपालिका–१७ अलौंका रयफुल मियाले भने “पार्टीले दोहोरो नागरिकलाई टिकट दिएकोले राप्रपाको समानुपाति मतमा पनि असर पर्नेनै छ ।” उनले भने ।
२०६३ सालमा खटिएको नागरिकता टोलीबाट सर्लाही जिल्ला तत्कालिन कविलासी गाविस वडा नं. ८ मा जन्म भएको भुठो विवरण पेश गरी नेपाली नागरिकता लिन सफल भएका साह भारत विहार सितामढी जिल्ला बेल निवासी नरसिंह साहका छोरा भएको खुलेको हो । साहको नागरिकता विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत परेको छ ।
राप्रपा श्रोतका अनुसार पार्टीमा साहले प्रवेश गरे देखि लाखौं रुपैया खर्च गरिसकेका छन भने अगामी संघ र प्रदेश संसदको निर्वाचनमा करोडौं खर्च गरिरहे पनि उनलाई मतदाताहरु दोहोरो नागरिक भएकै कारण मत नदिने मुड बनाएका छन् ।