विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनले चुनावी अभियानलाई तीव्र बनाएको छ ।
क्षेत्रका विभिन्न पालिकाहरुमा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य उमेदवारले बिहानैदेखि घरदैलो र कोणसभा कार्यक्रम आयोजना गरेका छन् ।
विराटनगर महागनरपालिका वडा नम्बर २ का विभिन्न टोलमा आयोजित घरदैलोमा सहभागी हुँदै प्रतिनिधि सभा सदस्य पदका उमेदवार नेकपा माओवादी केन्द्रका अमनलाल मोदी र भीम पराजुलीले आफूहरु जनचाहना अनुरुप विकासलाई थप गति दिन आएको बताए ।
कटहरी गाउँपालिका वडा नम्बर २ को कदमगाछीमा आयोजित सभामा बोल्दै मोदीले भने,“दुई दुई पटकसम्म संसद विघटन हुँदा विकासको काममा समेत असर गर्यो, लोकतन्त्र बचाउनको लागि पनि गठबन्धनको अवधारणा अघि सर्यो अब वहुमतको सरकार बनाएर अवरुद्ध भएका धेरै कामलाई अघि बढाउनु छ ।” मोदीले विगतका सरकारले गरेका धेरै गल्तीहरुलाई सच्याएर र सुधार अघि बढ्नु नै आफूहरुको जिम्मेवारी भएको मोदीको भनाइ थियो ।
नेपाली कांग्रेसका तर्फबाट मोरङ ४ ‘ख’ का प्रदेशसभा उमेदवार भीम पराजुलीले आफूले एक कार्यकाल विराटनगर महानगरपालिकाको मेयरको रुपमा काम गरेको अनभुव रहेकोले अब प्रदेशको विकासमा पनि त्यही ढंगले अघि बढ्ने बताए । “एउटा सक्षम र सवल प्रदेश निर्माणमा पूर्ण रुपमा सक्रिय हुनका लागि म उमेदवार बनेको हुँ,” पराजुलीले भने, “संघीयता कार्यान्वयन र विकासका अवसरलाई तलसम्म लैजान पनि गठबन्धनको सरकार बन्नुपर्छ ।” पराजुलीले विकासको अवसर तलसम्म लैजान बीचको सरकारको रुपमा स्थापित प्रदेशले धेरै काम गर्न सक्ने सुनाए ।
त्यस अवसरमा कदमगाछी टोलबासीले उमेदवारद्वय समक्ष त्यस क्षेत्रका समस्याको विषयमा जानकारी गराएका थिए । रयालीसहित घरदैलोमा निस्किएको गठबन्धनको टोलीलाई गाउँबासीले भव्य स्वागत गरेका थिए । यसअघि विराटनगर २ मा गठबन्धन दलका तर्फबाट बिहानै घरदैलो आयोजना गरिएको थियो ।