उर्लाबारी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ललित अधिकारी यो पटकको चुनावमा उम्मेद्वार हुनुहुन्न । २०७४ सालको चुनावमा मोरङ क्षेत्र नं. १ (१) बाट प्रदेशसभा सदस्यको उम्मेद्वार बन्नु भएका अधिकारी नेकपा माओवादी केन्द्रका कुलप्रसाद साम्बा (कुशल) सँग पराजित बन्नुभयो ।
त्यो बेला अधिकारीका प्रतिस्पर्धी वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कुशल हुनुहुन्थ्यो । पाँच वर्षमात्रै अघिका प्रतिस्पर्धीलाई कोही नेता फरक पार्टीमै भएर चुनाव जिताउने गरी लिएर हिँडेको दृश्य बिरलै देखिन्छ । पार्टी गठबन्धनले गर्दा यसपटक मोरङ क्षेत्र नं. १(१) मा यस्तै भएको छ । कांग्रेस नेता अधिकारी २०७४ सालको चुनावमा जोसँग पराजित हुनुभयो अहिले उहाँ कुशललाई जिताउन कस्सिनु भएको छ ।
चुनाव जितेर कुशलले प्रदेशसभाको पहिलो कार्यकालमा सक्रिय सांसदका रूपमा आफूलाई उभ्याउन सफल बन्नुभयो । मन्त्रीसरह मोरङ क्षेत्र नं. १(१) मा कुशलले बजेट भित्र्याउन सफल बन्नुभयो ।
दोस्रो कार्यकाललाई कुशल फेरि चुनावी मैदानमा हुनुहुन्छ । राजनीतिक परिरिस्थति फेरबदल हुँदा पाँच वर्षअघिका प्रतिस्पर्धी कुशललाई जिताउन अधिकारी सक्रियताका साथ लाग्नुभएको छ । विकासप्रेमी नेता कुशल भएको भन्दै अधिकारीले गोलाकारभित्रको हसिँया हथौडामा मतदान गर्न अपिल गरिरहनुभएको छ ।