विराटनगर। आगामी ४ मंसिरको निर्वाचनमा सत्ता गठबन्धनले जिते मात्रै संविधानको रक्षा हुने नेपाली कांग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र–६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले बताएका छन् ।
मोरङ क्षेत्र नम्बर ६ मा पर्ने विराटनगर महानगरपालिका वडा ११ मा चुनावी भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले बुधबार यस्तो बताएका हुन् ।
लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकमा सुशासन कायम गर्न निर्वाचनमा गठबन्धनले सफलता हासिल गर्नुपर्ने उनले बताए ।
यस्तै, शिक्षाबिना समाज र राष्ट्र सभ्य हुन नसक्ने भएकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै डा. कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार बने मुलुकमा विकास हुने र बेथिति हट्ने बताए।