जिम्बावेविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा घरेलु टोली बंगलादेशले क्लिन स्विप गरेको छ । शुक्रबार राति सिलेटमा भएको अन्तिम तथा तेस्रो खेलमा बंगलादेशले जिम्बावेलाई डिएल नियमको आधारमा एक सय २३ रनले हरायो । यससँगै बंगलादेशले सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।
बर्षाले प्रभावित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले बर्षाले खेल रोकिनु अघि ४३ ओभरमा तीन विकेट गुमाएर तीन सय २२ रन बनाएको थियो । बंगलादेशका लागि तमिम इकबाल र लिटोन दासले शतकीय रन बनाए । लिटोनले एक सय ७६ र इकबालले एक सय २८ रन बनाए । जिम्बावेका कार्ल मुम्बाले तीन विकेट लिए ।
यसपछि जिम्बावेले डिएल नियमका आधारमा ४३ ओभरमा तीन सय ४२ रनको नयाँ लक्ष्य पाएको थियो । जवाफी ब्याटिङ गरेको जिम्बावे ३७.३ ओभरमा सवै विकेटको क्षतिमा दुई सय १८ रनमा समेटियो । जिम्बावेका सिकन्दर राजाले ६१, वेस्ले माधिभिराले ४२, रेगिस चाकभाले ३४ र कप्तान सिन विलियम्सले ३० रन बनाए । बंगलादेशका मोहमद साइफुदिनले चार र ताइजुल इस्लामले दुई विकेट लिए । यसअघि पहिलो खेलमा बंगलादेशले जिम्बावेलाई एक सय ६९ रन र दोस्रो खेलमा चार रनले हराएको थियो । एजेन्सी