माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र कांग्रेसको गठबन्धन प्राकृतिक गठबन्धन भएको बताएका छन् । गोरखा सदरमुकामस्थित कांग्रेस पार्टी कार्यालयमा शनिबार आयोजित परिचयात्मक तथा अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा उनले वाम गठबन्धनबाट सिकेर कांग्रेससँग गठबन्धन गरेको बताए ।
‘हामीले राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन गरियो । विकास र समृद्धि गर्ने भनेर पार्टी एकता गरियो, तर तीन वर्ष नपुग्दै भताभुंग भयो,’ उनले भने, ‘उल्टै पार्टीभित्रैबाट निरंकुशता, छलकपट, बेइमानी देखियो । त्यसैले कांग्रेस, माओवादी र अन्य लोकतन्त्रवादी पार्टी र वामपन्थी पार्टीको गठबन्धन नै प्राकृतिक गठबन्धन हो ।’
एमालेसँगको गठबन्धनबाट आफूले ज्ञान प्राप्त गरेको उनले बताए । ‘यसअघिको गठबन्धनबाट मैले ज्ञान प्राप्त गरेर आएको छु, त्यो ज्ञान अब यो गठबन्धनलाई काम लाग्छ, अहिले काम लागिरहेको छ,’ उनले भने । देशको संविधान, लोकतन्त्र रक्षा र राजनीतिक स्थायित्व र समृद्धिका निम्ति सत्तारूढ गठबन्धन निर्माण भएको उनले बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भइसकेपछि हामीले निकै ठूलो उपलब्धिका रूपमा आत्मसात् पनि गर्यौँ । तर, त्यो संविधान घोषणा भएको केही वर्ष नबित्दै त्यही संविधानमाथि प्रहार भयो,’ उनले भने । प्रचण्डले अझै पनि हँसिया–हथौडा र रूखमा भोट हाल्न हात काम्ने कार्यकर्ताले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको महत्व नबुभेको बताए ।
यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ।