इङ्लिस प्रिमियर लिगले खेल अगाडी खेलाडी र खेलका अफिसियलबीच हात मिलाउने परम्परालाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेको छ । देशमा कोरोनाभाइरसको संक्रमणको बढेसँगै लिगले यो निर्णय लिएको हो ।
सरकारले लिगलाई संक्रमण रोकथामका लागि योजनाहरु अघि सार्न आग्रह गरेको भोलिपल्ट यो निर्णय लिइएको हो । अब टोलीले पहिलेजस्तै मैदानमा लाइनमा बसे पनि हात नमिलाइ अघि बढ्नेछन् ।
हालसम्म कोरोनाभाइरसबाट ८७ देशमा ९० हजारभन्दा बढी संक्रमित भएका छन् । यसमध्ये धेरै जसो भाइरसको केन्द्रविन्दु चीनका रहेका छन् ।
यता, प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले एनफिल्डमा मास्कट नराख्ने र आफ्नो स्टाफहरुलाई कोरोनभाइरस संक्रमणको जोखिम रहेका देशहरुमा यात्रा गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साथै, क्लबले सबैलाई स्वस्थ बानीको बारेमा सम्झाएको छ ।
क्लबले एनफिल्डका सबै ट्वाइलेट र बाथरुपमा ह्यान्डस्यानिटाइजर र एन्टी ब्याक्टेरियल ह्यान्डवास राख्ने पनि बताएको छ । एजेन्सी