नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताएका छन् । उनले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभई धेरै लामो हुने बताए ।

आफूहरु एक्ला-एक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको उल्लेख गर्दै प्रचण्डले अब मुलुकका लागि फेरि समृद्धिको, विकासको समाजवादको नयाँ मोडल तयार पार्ने संकल्पसहित आफूहरू सहकार्यमा आएको पनि स्पष्ट पारे । नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरुले मर्न चाहेको उल्लेख गर्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गरे

‘हामीले समाजवादको लागि एउटा नयाँ जनयुद्ध नयाँ खालको गोरेटो कोर्ने संकल्प गरेपछि अनि हामी अब एकैठाउँमा केन्द्रित हुने हो । चुनाव आईनै हाल्यो । चुनावमा त हामी आ–आफ्नो पार्टी भन्दै तर एउटै चुनाव चिन्हबाट जाने निर्णय पनि यो चुनावका लागि मात्रै गरिएको निर्णय होइन । तपाईंहरूलाई के नलागोस् भने यो दुईटा बसेर चुनावका लागि मात्रै गरे । तर, यसको लागि मात्रै गरिएको छैन’, प्रचण्डले भने, ‘यो त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ हामी । र, यो देशलाई फेरि एकचोटी समृद्धिको, विकासको, समाजवादको एउटा नयाँ मोडल हामीले नै दिनुपर्ने हुन्छ, हामीले नै दिन्छौँ । किनभने यो परिवर्तनको बाहक हुनुको नाताले, त्यसको नेतृत्वको टिम हुनुको नाताले हामीले त्यसको जियोमेट्रीकल्ली निकै ठूलो हुन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ ।’

प्रचण्डले बाबुराम र आफू एक अर्काको परिपूरक भएको पनि बताए । ‘हामी हिजो पनि एकअर्काको पुरक भएर हामीले आन्दोलनलाई यहाँसम्म ल्याएको हो । बानी, व्यहोरा र स्वभावको हिसावले बाबुरामजीको र मेरो धेरै मिल्दैन । तर फेरि हामी दुईटा एकठाउँमा हुँदा एकको अभाव अर्कोले पूर्ति गरिदिने, अर्कोको अभाव अर्कोले पूर्ति गरिदिने एउटा ठूलो शक्ति र तागत भएको थियो । त्यसकारण यो बीचको समीक्षा गर्दै अब फेरि एकचोटी देशलाई, आन्दोलनलाई, समाजवादलाई र विकासलाई समाजवादको नयाँ मोडेललाई त्यो १९औँ शताब्दीको जस्तो हुनेवाला छैन । त्यो बिसौं शताब्दीको जस्तो पनि हुनेछैन । त्यो एक्काईसौं शताब्दीको हुनेछ ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!