हिपमत डटकम

शुक्रबार, भाद्र १७, २०७९ || 3135  पटक पढिएको

काठमाडौं । नेपालको कुल जनसङ्ख्याको झन्डै ९३ प्रतिशतले विद्युत् उपभोग गर्न पाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले सबै स्थानीय तहका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको प्रतिवेदनले कुल जनसङ्ख्याको ९२.५१ प्रतिशतमा विद्युत्को पहुँच पुगेको देखाएको हो ।

नेपाल विद्युत् प्राधिकरणले बिहीबार सार्वजनिक गरेको नेपाल विद्युतीकरण तथ्याङ्क २०७७ अनुसार मधेश प्रदेशमा लगभग सबै जनसङ्ख्याले विद्युत् उपभोग गर्न पाएका छन् भने सबभन्दा कम कर्णाली प्रदेशको ५६.७९ प्रतिशत र सुदूरपश्चिमको ७८.८५ प्रतिशत जनसङ्ख्यामा मात्रै विद्युत् पहुँच पुगेको छ । विद्युत्को पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट रहेको छ ।

४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण

यो प्रतिवेदनअनुसार ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको छ भने २४२ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा प्राधिकरणले विद्युत् पु¥याउन सकेको छैन तर यी स्थानीय तहका केही स्थानमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सौर्य ऊर्जा तथा लघु जलविद्युत्मार्फत बिजुली बालेको छ ।

४२ जिल्लामा पूर्ण विद्युतीकरण

७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ भने १४ जिल्लामा ७५ देखि ९५ प्रतिशत र १० जिल्लामा ५० देखि ७५ प्रतिशत विद्युतीकरण भएको छ । यसैगरी सात जिल्लामा २५ देखि ५० प्रतिशत र चार जिल्लामा शून्यदेखि २५ प्रतिशत मात्र विद्युतीकरण भएको छ ।

सो प्रतिवेदनअनुसार डोल्पा, मुगु र हुम्लामा अझैसम्म राष्ट्रिय ग्रिड पुग्न सकेको छैन । राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य, लघु जलविद्युत्मार्फत विद्युतीकरण गर्ने प्रयास भइरहेको छ ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार गत आर्थिक वर्ष थप १० जिल्लालाई सारभूत रूपमा विद्युतीकरण गर्न सकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आंशिक विद्युतीकरण भएका र विद्युतीकरण हुन नसकेका स्थानीय तहमा विद्युतीकरण गर्न टेन्डरको प्रक्रियामा गइसकेका छौँ ।”

मधेशमा शतप्रतिशत र कर्णालीमा आधा

आगामी दुई वर्षमा शतप्रतिशत विद्युतीकरणको अभियानमा जुटेको सरकारले पछिल्लो दुई वर्षमा मधेश प्रदेशको विद्युतीकरणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

दुई वर्षअघिसम्म मधेश प्रदेशमा ७९.७७ प्रतिशत मात्रै विद्युतीकरण भएकामा २०७९ को असारसम्ममा ९९.९५ प्रतिशत विद्युतीकरण भएको छ ।

यस्तै दुई वर्षअघि २७ प्रतिशत मात्र विद्युतीकरण भएको कर्णाली प्रदेशमा अहिलेसम्म ५६.७९ प्रतिशत पुगेको छ । यसै अवधिमा बागमती प्रदेशमा ९०.३ प्रतिशतबाट बढेर ९७.४७ प्रतिशत विद्युतीकरण भएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार प्रदेश १ मा ९१.२३ प्रतिशत, गण्डकीमा ९७.७६ प्रतिशत, लुम्बिनीमा ९६.७३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७८.८५ प्रतिशत विद्युतीकरण भएको छ । २०७७ मा सुदूरपश्चिम प्रदेशमा ५८.९ प्रतिशत मात्र विद्युतीकरण भएको थियो ।

विद्युतीकरणले तीव्रता पाए पनि कर्णाली र सुदूरपश्चिम प्रदेश अझै पछाडि पर्नुमा त्यहाँको भौगोलिक विकटता नै प्रमुख कारण रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । “भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णाली प्रदेशमा विद्युतीकरणमा केही ढिलाइ भए पनि अब दुई वर्षभित्रै सबै घरधुरीमा विद्युत् पु¥याउने गरी उच्च प्राथमिकताका साथ काम भइरहेको छ,” उहाँले भन्नुभयो । यसका लागि बजेट व्यवस्थापन गरी टेन्डर आह्वान गरिसकेको उहाँले जानकारी दिनुभयो ।

प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी) र युरोपेली लगानी बैङ्क (ईआईबी)बाट करिब २८ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामाविद्युतीकरण गर्दै छ ।
यो खबर आजको गोरखापत्रमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!