विराटनगर। मोरङका ६ निर्वाचन क्षेत्रमा कांग्रेसी आकांक्षीलाई ‘बुझो’ लगाउन पार्टीले सक्ने छैन । गठबन्धनका नाममा प्रतिनिधि सभा र प्रदेश सभाका केही सिट बाडफाँड भए कांग्रेसभित्र विद्रोहको ‘ज्वाला’ बढ्ने निश्चित देखिएको छ । मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेश सभाका सांसदको चयन हुनेछ । कांग्रेसभित्रै अन्तरसंघर्ष छ र, गठबन्धनका नाममा थपिने प्रक्रियाले कांग्रेसलाई झनै विभाजित गर्ने मोरङ कांग्रेसका एक युवा नेताले बताए । उनले भने, ‘स्थानीय निर्वाचनबाट पनि कांग्रेसले पाठ सिक्नुपर्छ ।’
मोरङ २ मा डा. मीनेन्द्र रिजाललाई चुनौति दिदैं सुजाता कोइराला अघि बढेकी छन् । अमृत अर्यालले राजनीति गर्दै आएको क्षेत्र गठबन्धनका नाममा माओवादी वा जसपालाई दिए व्यापक असन्तुष्टि हुने देखिन्छ । ६ मा डा. शेखर कोइराला आफै पनि सुरक्षित छैनन् । ४ मा महेश आचार्यले दोहोर्याए विशाल अन्तर्घातको सम्भावना छ ।
१ मा डिकबहादुर लिम्बू, खड्ग फागोबीच तिब्र स्पर्धा छ । मोरङमा माओवादी केन्द्रले प्रतिनिधिसभामा २ क्षेत्र मागेको छ । प्रदेशसभा तर्फ कम्तिमा ४ सिटको दावी गरेको छ । २ सिट माओवादीलाई दिए जसपालाई कहाँ राख्ने ? नेकपा एसलाई कहाँ दिने ? भन्ने समस्या छ । त्यसैले गठबन्धन गर्दा कांग्रेसले मात्र २ वा बढीमा ३ सिट लिने गरी तालमेल गर्नुपर्ने हुन्छ । कांग्रेसभित्र केन्द्रीय नेतादेखि प्रदेश र जिल्लाका नेताको आकांक्षा तिब्र छ ।
मोरङलाई आधार मानेर डा. शेखर कोइराला, अमृत अर्याल, सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, डा. डिला संग्रौला, महेश आचार्य, गुरुराज घिमिरे, दिलिप गच्छदार, भीम पराजुली, डिकबहादुर लिम्बू, डा. सुनिल शर्मा, भक्ति माझीलगायतको ठूलो संख्या छ । ‘कांग्रेसभित्र कुनै हालतमा असन्तोष मिल्दैन, यसको असर नतिजामा देखिने छ, पार्टीभित्र स्थानीय भन्दा बढी अन्तर्घातको सम्भावना देख्छु’ मोरङ कांग्रेसका एक पदाधिकारीले भने, ‘एकातिर कांग्रेसभित्रकै समस्या अर्कोतर्फ गठबन्धन हुँदा सिट बाडफाँड हुने अवस्थाले पार्टीमा अनुशासनको घेरा मज्जाले तोडिने देखिरहेको छु, कुनै आकांक्षी एक कदम पछि हट्नै तयार देखिन्नन् ।’
स्थानीय तहमा टिकट नपाएकाहरू कांग्रेसमा प्रदेश सभाको सांसदमा उम्मेदवार हुने आकांक्षासहित सोसल मिडिया र संचारमाध्यममा सार्वजनिक हुने क्रम बढेको छ ।मोरङमा यो लफडाले एमालेलाई हाइसञ्चो छ । एमालेका एक केन्द्रीय सदस्यले न्यू सृष्टि दैनिकलाई भने, ‘६ क्षेत्रमा हामी ६ जनाको नाम छनौट गरेर चुनावी अभियानमा होमिइसकेका छौं, प्रदेशका १२ सांसदमा पनि कुनै समस्या छैन ।’ एमालेले १ देखि ६ सम्म घनश्याम खतिवडा, ऋषिकेश पोखरेल, भानुभक्त ढकाल, विनोद ढकाल, योगेन्द्र मण्डल र लालबाबु पण्डितलाई अघि सारेको छ ।