नेपाली काँग्रेसमा गत स्थानीय निर्वाचनमा भएको पराजयको विषयलाई लिएर कारबाहीको होडबाजी चलेको छ । मोरङस्थित कानेपोखरी गाउँ कमिटीले स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाहीको सिफारिस गरेको थियो ।
काँग्रेसको कानेपोखरी गाउँ कमिटीले राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, काँग्रेसका महाधिवेशन प्रतिनिधि जयराज संयोग, क्षेत्रीय प्रतिनिधि मदन सेडाइ र कानेपोखरी गाउँपालिका उपसपभाति भानु फुयाललाई कारबाही सिफारिस गरेको थियो ।निर्वाचनमा कानेपोखरी गाउँपालिकाको अध्यक्षमा पार्टीका आधिकारिक उम्मेदवार सञ्जय भट्टराईलाई उनीहरुले असहयोग गरेको ठहरका साथ कारबाहीको सिफारिस गरिएको थियो । कानेपोखरी गाउँ कमिटीको नेतृत्वमा काँग्रेसको संस्थापन इतर पक्ष छ भने कारबाहीको सिफारिस गरिएकाहरु संस्थापन पक्षका हुन् ।
पार्टीको गाउँ कमिटीको उक्त निर्णयपछि संस्थापन पक्षले वडा समितिबाट सभापति सहितका नेतालाई हटाउने निर्णय गर्न थालेको छ । नेपाली काँग्रेस कानेपोखरी गाउँपालिकाको २ नम्बर वडा समितिले पार्टीबाट वडा नम्बर २ का उम्मेदवारलाई हराउन विपक्षी पार्टीसँग साँठगाँठ गरेको भन्दै गाउँपालिकाका अध्यक्षका उम्मेदवारसहित ५ जनालाई कारबाहीको सिफारिस गरेको छ । कारवाहीको सिफारिसमा परेकाहरूमा मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार एवम् नेपाली काँग्रेस प्रदेश १ का सदस्य सञ्जय भट्टराई, नेपाली काँग्रेस मोरङ ३ (क) का सचिव हिमप्रसाद तिम्सिना, नेपाली काँग्रेस कानेपोखरी गाउँपालिकाका सभापति योगेन्द्रप्रसाद दाहाल, नेविसंघ मोरङका पूर्व कार्यवाहक सभापति फडिन्द्र निरौला र नेपाल तरुण दल कानेपोखरी २ का सभापति अर्जुन खत्री छन् ।
उनीहरू पाँचै जनाले २ नम्बर वडाका अध्यक्षका उम्मेदवार गोपाल खड्कालाई हराउन नेकपा एमालेसँग साँठगाँठ गरेको संस्थापन पक्षको आरोप छ । काँग्रेसका २ नम्बर वडा समिति सभापति बमबहादुर पौडेल, प्रचारप्रसार समितिका संयोजक बिनोद बोहोरा र वडाध्यक्षका उम्मेदवार गोपाल खड्काले संयुक्त हस्ताक्षर गरी मोरङ काँग्रेसलाई कारबाहीको सिफारिस गरेको हो । कानेपोखरी गाउँपालिकामा नेकपा एमालेले निवर्तमान अध्यक्ष ताराबहादुर काफ्लेलाई टिकट नदिएपछि काँग्रेसभित्र एकाएक माओवादीसँग हुन लागेको गठबन्धन टुटेको थियो ।