
विराटनगर । विराटनगर महानगरपालिकामा पहिलो मनोनयन दर्ता स्वतन्त्र उम्मेदवारको परेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिका वडा नम्बर १० मा स्वतन्त्रबाट विजयी भएका माधवराज वाग्लेले फेरि उम्मेदवारी दिएका हुन् ।

उनले दोस्रो पटक वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनले विराटनगरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो मनोनयन दर्ता गराएका हुन् । उनले वडामा पहिलो कार्यकालमा पूरा हुन नसकेको कामलाई पूरा गर्न दोस्रो पटक मनोनयन दर्ता गरेको बताए । ‘वडामा अझै धेरै काम बाँकी रहेकोले उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘नागरिकको चाहना अनुसारको काम गर्न म अघि बढेको हुँ ।’
जनप्रतिनिधिले धेरै काम गर्नु पर्दैन साना साना समस्याको समाधान गर्यो या समयमा नै सेवा पायो भने नागरिकले राहत महसुस गर्नु उनले बताए । २०७४ सालको निर्वाचनमा उनी ८८५ मत पाएर विजयी भएका थिए ।