
एजेन्सी। चीनले ताइवानको हवाईक्षेत्रमा फेरि एकपटक २७ वटा युद्धविमान उडाएको छ ।

ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सैन्य विमानहरू एयर डिफेन्स आइडेन्टिफिकेसन जोनको दक्षिणपश्चिम क्षेत्रमा आइतवार प्रवेश गरेको बताएको छ ।
चीनको सेनाले ताइवान जलसन्धिमा युद्धको तयारी अभ्यास गरेको केही दिनपछि चीनका विमान यसरी ताइवानको हवाईक्षेत्रमा प्रवेश गरेका हुन् । अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डलले ताइपेको भ्रमण गरी समर्थन जनाएपछि चीनको प्रतिक्रिया आएको हो ।
शुक्रवार पाँचजना अमेरिकी सांसदहरू दुईदिने भ्रमणका लागि ताइवान पुगेका थिए ।
अमेरिकी राजनीतिकर्मीहरूले गर्ने ताइवानको भ्रमणलाई चीनले नियमित रूपमा निन्दा गर्ने गरेको छ । चीनको परराष्ट्र मन्त्रालयले वाशिङटनसमक्ष सांसदहरूको पछिल्लो भ्रमणको औपचारिक विरोध गरेको छ । ताइवान कार्ड खेल्नु हारको बाटो भएको चीनको चेतावनी छ ।