सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकामा स्यालको टोकाईबाट आठ जना घाईत भएका छन । वडा ६ बस्ने भिखो मेहता स्यालको टोकाईबाट गम्भीर घाइते भएका हुन् । सोही वडा राजगंज सिनुवारी बस्ने रामकिसुन मेहताको सबै गाईलाई स्यालले टोकेर घाईते बनाएको रामकिसुनले हिपमत डटकमलाई बताए ।
देवानगंज र बर्जुमा केही दिन यता स्यालको आतंक बढेकोले किसानहरु त्रसित भएका छन् । आफ्नो खेतमा काम गर्न जादा जंगली स्यालले आक्रमण गरेकोले काम गर्न निकै डर भएको राजगंज सिनुवारीका किसान राजेन्दर मेहताले बताए ।
देवानगंजको वडा १,२,३ र ६, मध्यहर्षाही, कप्तानगंज र बर्जु गाउँपालिकाको चिमडी अमाही बेलहा लगायतका स्थानमा स्यालको आतंक बढेको छ । स्थानीय किसुनदेव मेहताका अनुसार देवानगंज गाउँपालिकामा मात्रै हालसम्म स्यालको आक्रमणबाट जम्मा ८ जना घाईते भईसकेका छन् ।
देवानगंज वडा १ बस्ने ५५ बर्षीय मजिया देवी मेहता आफ्नै पसलमा बसिरहेको बेला अचानक जंगली स्यालले आकर्मण गरेपछि गम्भीर घाइते भएका थिए । त्यस्तै सोही ठाउँ बस्ने कारी मेहता र कालिचरण मेहता समेत गम्भीर घाइते भएका हुन् । घाईतेहरुको उपचार बिराटनगरको कोशी अस्पतालमा भईरहेको स्थानीय अरूण मेहताले बताए ।