आइतबार, भाद्र १३, २०७८ || 791  पटक पढिएको

विराटनगरको पशु सेवामा एक युवायुवतीको समूह सक्रिय छ । समूह खासै ठूलो छैन । १५ जनासम्म विराटनगरका युवायुवती त्यस समूहमा आवद्ध छन् । तिनीहरूबीच पहिलेदेखि कै चिनजान पनि हैन । आफ्mू बस्ने ठाउँ फरक–फरक भएपनि र नातागोता केहि नभएपनि समाज परिवर्तन गर्ने लक्ष्य र ध्येय एउटै थियो । समाजमा हाल पनि आवारा पशुहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । अझ सडकमा भौतारिरहने आवारा कुकुरहरूलाई अधिकांशले घृणा गर्ने गरेका छन् ।

सडकका भुस्याहा कुकुरहरू जीउभरी घाउ खटिरा लिएर दिनभर भोकै दौडिरहेका हुन्छन् । भोकका कारण त्यस्ता कुकुरहरूले बालबालिकाको विष्टा पुछेको डाइपरदेखि माटो लागेको प्लाष्टिकसम्म चपाइरहेका हुन्छन् । विराटनगरका करीब ५० हजारभन्दा अधिक संख्यामा रहेका भुस्याहा कुकुरको अवस्था दयनीय छ । विराटनगर–४ कञ्चनबारी की रश्मी थापाले सडकका बेसहारा भुस्याहा कुकुरको कारूणीक अवस्था हेर्न सकिनन् । मुखले बोल्न नसक्ने यस्ता कुकुरहरूको अवस्था सुधार्ने प्रण थापाको थियो ।

समाजका लागि केहि गर्ने जोश र जाँगर बोकेका विराटनगरका विभिन्न ठाउँका युवा युवतीहरू फेसबुकको माध्यमबाट समूहमा आवद्ध भए । के गर्ने भनेर छलफल, बहस गरे । सडकका भुस्याहा कुकुरहरूलाई खाना वितरण गर्ने, लुतोको उपचार गर्ने, जुकाको औषधी खुवाउने निचोडमा पुगे । तर कुनै पनि कार्य गर्न रकमको आवश्यकता पर्छ । युवायुवतीको समूहमा रकम बाधक बन्यो । तर यिनीहरूले आफ्नो मिसनलाई त्यसै नछाड्ने संकल्प लिए ।

समूहका युवायुवतीले आ–आफ्नो हैसियत अनुसार कुकुरलाई खुवाउन घरैबाट चामल, दाल लिएर आउने निर्णय गरे । आफूसँग रहेको पकेटमनीबाट कुकुरलाई चाहिने दुध, मासु र औषधी किन्ने संकल्प गरे र अभियानलाई अगाडि बढाए । समूहले १ हप्तादेखि भुस्याहा कुकुरको देखभालको मोर्चा सम्हालेको छ । समूहका केहि सदस्य सिटी सफारी र केहि मोटरसाइकलमा चढेर सडकका भुस्याहा कुकुर खोज्दै हिँड्ने गरेका छन् । पुष्पलाल चौकदेखि नै सडकका भुस्याहा कुकुरलाई खाना खुवाउने मिशन शुरू गर्छन् ।

उनीहरूले आर्थिक अभावमा दिन विराएर १ टाइम सडकका भुस्याहा कुकुरहरूलाई खाना खुवाउने गरेका छन् । खानामा जुकाको औैषधी पनि मिसाएर दिन्छन् ।

न्यू सृष्टि दैनिकसँग कुरा गर्दै थापाले भनिन्, ‘सडक कुकुरहरू खानाका लागि पूर्ण मानिसमै भर परेको हुन्छ, मानिसले सडक कुकुरलाई एकदमै घृणा गर्छन् । खानाको अभावमा रोगी बन्ने र मानिसमा समेत संक्रमण सर्ने खतरा रहन्छ । सडक कुकुरलाई शान्त राख्न खाना दिनु आवश्यक छ । ’

विराटनगरमा दिनहुँ १० देखि १५ जना भुस्याहा कुकुरको टोकाइबाट पीडित बन्ने गरेका छन् । कुकुरका कारण सडक दुघर्टनमा पनि हुने गरेको छ । समूहले सडक कुकुरको उचित स्याहार सुसार र रेखदेख गरेर टोकाइ र दुघर्टना जस्ता समस्या पनि न्युन पार्ने सोच अघि सारेको छ । समूहलाई संस्थाका रूपमा विकसित गर्दै निकट भविष्यमा महानगरपालिका क्षेत्रमा बन्ध्याकरण गरेर सडक कुकुरको संख्या नियन्त्रण गर्ने तयारीमा समूह पुगेको छ । पशुको क्षेत्रमा सक्रियता देखेर केहि दाताहरूले पनि हात अघि बढाएका छन् भने विस्तृत योजनाका साथ दिगो अभियान संचालन गर्ने समूहको सोच छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!