विराटनगर–१२ रिङ्गरोड स्थित केशलिया नदीको किनारमा २५ करोडको लागतमा सुविधा सम्पन्न स्मार्ट सहरको निर्माण हुँदै छ ।
विराटनगर रिङ्गरोड क्षेत्रलाई स्मार्ट सहर बनाउने गरी सुविधा सम्पन्न एकिकृत सहरको निर्माण थालिएको नेपाली कांग्रेस प्रदेश नं. १ का प्रमुख सचेतक केदार कार्कीले जानकारी गराए । सांसद कार्कीको निर्वाचन क्षेत्रमा आदिमकालदेखि नै भूमिहीन तथा विपन्न परिवारलाई जग्गाधनी बनाउनका लागि योजना अघि बढाइएको हो ।
विराटनगर महानगरपालिका नेपाली कांग्रेस प्रदेश नं. १ का प्रमुख सचेतक कार्कीको सांसद कोष, हेभी राइट फर ह्युमेनिटी नेपाल, सहारा नेपाल र दाताहरूको सहयोगमा ३ विगाहा १६ कठ्ठा ५ धुर जग्गामा १ सय ४५ वटा सुविधा सम्पन्न घर निर्माण शुरू छ । प्रत्येक घरमा बाँसको पिलर छ । बाँसकै बीम र टीनाको छज्जीसहितको घर निर्माण भइरहेको छ । प्रत्येक परिवारको सुत्ने घरमा गर्मी छल्नका लागि एउटा कोठामा प्लाइउडसहितको फल्स सिलिङको व्यवस्था गरिएको छ । आयोजकले विराटनगर–१२ को केशलिया नदी किनारजस्तो ठाउँमा घोषणा गरे बमोजिमको सेवा सुविधा चुनौती छ ।
स्मार्ट सहर बनाउनका लागि वैज्ञानिक तरिकाले प्लटिङ्ग गरिएको जग्गामा निर्माण भइरहेको सबै घरसम्म पुग्न २० फिटको नालासहितको सडक, विजुली, खानेपानी, एकसाथ पु¥याउने लक्ष्यका साथ घरको निर्माण कार्य जारी छ । मोरङको कटहरी गाउँपालिका स्थित जीवन विकास समाज अन्तर्गतको लघुवित्त वहुउद्देश्यिय संस्थाले जग्गा खरिदका लागि १ सय ४५ घर परिवारलाई जनही २ लाख ६० हजारका दरले ऋण प्रवाह गरेको छ ।
विराटनगर–१२ मलंगवाका सुकुम्बासी ऋषिदेव परिवारलाई जग्गासहित घरधनी बनाउनका लागि उनीहरूकै नाउँमा जग्गा खरिद गरेर घर निर्माणको थालनी गरिएको हो । नेपाली कांग्रेस महानगरपालिका समितिका कार्यवाहक अध्यक्ष अरूण न्यौपानेको संयोजकत्वमा एकिकृत स्मार्ट सहर निर्माणको थालनी गरिएको छ । २०७८ सालको लक्ष्मीपुजाको दिन सबै घरमा दिपावली मनाउने गरी १४५ वटै घरको निर्माण शुरू भइसकेको न्यौपानेले जानकारी गराए ।
विराटनगर महानगरपालिकाको सामूदायिक विकास शाखा प्रमुख तथा महानगरपालिकाको आवास कार्यक्रमका सम्पर्क अधिकृत पुनम दाहालले प्रत्येक परिवारलाई १० धुर जग्गामा वरण्डासहितको साढे १० फिटको २ कोठे टिनाको छत भएको घरको निर्माण गरिने बताए । घरसँगै टाँसिएर प्रत्येक परिवारलाई शौचालय र स्नानघरपनि निर्माण गरिने छ । एक परिवारको घर निर्माणको लागि ४ लाख २५ हजार भन्दा बढी रकम खर्च हुने दाहालले जानकारी गराए । यसरी निर्माण गर्ने स्मार्ट सहरमा विद्यालय निर्माण गरी ऋषिदेव परिवारका छोराछोरीलाई स्तरीय शिक्षा प्रदान गरी उनीहरूको जीवनको स्तरोन्नती गरिने छ ।
स्मार्ट सहरमा हरियो सहर बनाउका लागि विभिन्न वातावरणसँग सम्बन्धित संघ संस्थाको सहयोगमा वृक्षारोपण कार्यक्रम संचालन गरिने छ । विराटनगर–१२ मा निर्माण हुन लागेको एकिकृत स्मार्ट सहरका लागि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ३ लाख ५० हजार, विराटनगर कांग्रेसका कार्यवाहक अध्यक्ष न्यौपानेले ३ लाख ५० हजार, समाजसेवी शान्ता बस्नेतले ३ लाख ५० हजार, प्रदेश सांसद कार्कीका स्वकीय सचिव अक्षय सहनीले १ लाख ५१ हजार, ज्योती झाले १ लाख १ हजार, सुनिल थापाले १ लाख १ हजार, इटहरी स्थित ग्रीन लिङ्क वातावरण तथा सरसफाई संस्थाका निर्मला चौधरीले १ लाख, कांग्रेस विराटनगर–१२ का सभापति हरिनारायण यादवले ५१ हजार, संजीव चापागाईंले २५ हजार, रवि साहले २१ हजार, अमृत साहले ११ हजार, प्रेम गुप्ताले ५ हजार १ सय , सुलेमान साफीले ५ हजार १ सय र पिपल चौक युवा समूहले ११ हजार रूपैयाँ सहयोग गरेको छ । समितिले विराटनगरको कञ्चनबारी स्थित कृषि विकास बैंकमा खाता खोलेर सहयोग गर्न दाताहरूलाई आग्रह गरेको छ । वस्ती निर्माणका लागि विराटनगर महानगरपालिकाले पहिलो चरणमा १ करोड रूपैयाँ सहयोग गरेको छ ।
यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।