शुक्रबार, भाद्र ११, २०७८ || 655  पटक पढिएको
फ़ाईल तस्बिर

वि.सं. ००३ सालमा मिल्स एरियामा स्थापित रघुपति जुट मिल्स लिमिटेडले ७५ वर्ष पूरा गरेकोमा हिरक जयन्ती मनायो । रघुपति सरकारी स्वामित्वमा हुँदा यसको रसमात्रै नभई चुस्नेले गुदीसम्म चुसे । छियाछिया बनाए र निजी क्षेत्रलाई सुम्पन्ने वातावरण तयार पारे । गोल्छा अर्गनाइजेसनले सरकारमा बसेका अनेक पदासिन व्यक्तिहरूलाई मिलायो र रघुपति लियो । नेपालमा उत्तिसारो खपत नहुने जुटलाई यो अर्गनाइजेसनले भारतमा बिक्री गर्छ ।

स्थापना कालदेखि अर्गनाइजेसन नजोडिएपनि उसले हिरक जयन्ती मनायो । अर्गनाइजेसन भनिन्छ तर भित्रभित्रै गोल्छा परिवारमा बर्चश्वको हानाथाप चलिरहेको भन्ने चर्चा सुनिन्छ कहिलेकाँही । साँचो हो कि त्यसै हल्ला मात्रै हो त्यो अर्गनाइजेसन भित्रका गोल्छा परिवारनै जानुन् । विराटनगरमा जयन्ति, सभा, समारोह मनाउन सजिलो छ । वृक्षारोपण गर्नुस् कि त रक्तदान गर्नुस् । अनि फोटो समाचार वा सामाजिक सञ्जालमा हाल्नुस् । वाह वाही भइहाल्छ ।

जयन्तीमा काम देखाउन रघुपतिमा पनि वृक्षारोपण गरियो । वृक्षारोपणका फोटोहरू विभिन्न ठाउँमा छरिए । वृक्षारोपणको फोटो मैलेपनि हेर्ने मौका पाएँ । मेरो ध्यान एउटा कुरामा अडियो । वृक्षारोपण गरिरहेका मालिकको खुट्टामा जुत्ता थियो भने मजदूर खाली खुट्टा मालिकलाई वृक्षारोपण गर्न सघाइरहेका थिए । मलाई मालिकहरू र मजदूरबीचको विभेद यही होलाजस्तो लाग्यो । महोत्सवको शुरूवातमा वृक्षारोपणबाट गरियो ।

उद्योग संगठन, मोरङ व्यापार संघका वरिष्ठजनले पनि वृक्षारोपण गरे । सबैले ब्राण्डेड जुत्ता लगाएका थिए । कतिले त विदेशबाट आयात गरिएको जुत्ता पनि लगाएका थिए होलान् । एक से एक महङ्गो जुत्ता पदाधिकारीहरूको शान बन्यो होला । तर मजदूरको खुट्टा त खालीको खाली नै । उसको पाउमा न जुत्ता अट्यो न त चप्पल नै सजियो । धनी त मालिक हुनुपर्छ । गरिब मजदूर कहिले धनी हुन पाउँदैन । छुट पनि छैन । जुत्ता त मालिकको खुट्टााका लागि हो, नाङ्गै त मजदूर बन्नु पर्छ ।

उद्योग त धेरै खुले । तर मालिक र मजदूरबीचको सम्बन्ध कहिलेपनि अन्योन्याश्रित बन्न सकेन । विभिन्न समयमा विभिन्न खाले नियोजित षड्यन्त्रबाट मजदूर पीडित नै हुनु परेको छ । ट्रेड युनियनका केहीलाई मालिकले आफ्नो बनाउँछ र शोषण जारी राख्छ मजदूरको । यो त प्रचलन नै बनेको छ । मजदूरले आवाज उठाउनु हुन्न । सेवा सुविधा पाएपनि नपाएपनि आज्ञाकारी बनिनै रहनु पर्छ । होइन भने कि त तलब रोकिन्छ कि त जागिर जान्छ । कोरोनाले झनै विकराल अवस्था निम्त्याएको छ । विचरा ती मजदूरको पनि अनेकन समस्या र पीर थिए होलान् तर खाली खुट्टा मालिकको बफादार बनेका छन् ।

पीर बुभ्mनु पर्छ मालिकले पनि । सबैतिर ठिक भएको भए शायद मजदूरहरू श्रमकार्यालय धाउँदैन थिए होलान् उजुरीको चाङ्ग बोकेर । म त नेपालको औद्योगिकीकरणमा क्रान्ति भएको हेर्न चाहन्छु । मालिक र मजदूरको सम्बन्ध सुमधुर भएको हेर्न चाहन्छु । उद्योगपनि फलेफुलेको होस् भन्ने चाहन्छु भने मजदूरपनि ती उद्योगबाट काम गरेर सन्तुष्ट बनेको देख्न चाहन्छु ।

मेरो यसमा केही स्वार्थ छैन । सुनेको छु कतिपय मजदूर मिल्सकै जग्गामा वर्षौ वर्षदेखि बसिरेहका छन् रे । तिनीहरूकै नाममा पूर्जा दिने पटक–पटक आश्वासन पनि दिइएको छ रे । यदि यो कुरा हो भने जीवन नै रघुपतिमा खपत गरेका मजदूरहरूको नाउँमा उनीहरू बसोबास गर्ने जग्गाको पूर्जा दिए साँचो अर्थमा हिरक जयन्ती मनाइएको हुने थियो । होइन भने मालिक जुत्ताको जुत्ता मजदूर खाली खुट्टाको खुट्टा ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!