हिपमत डटकम

शुक्रबार, साउन ०१, २०७८ || 730  पटक पढिएको

भनिन्छ- आमाबुवाका लागि संसार छोराछोरीकै वरिपरि घुम्छ। छोराछोरीको खुसीका लागि उनीहरूले जस्तोसुकै त्याग गर्न सक्छन्। यो कुरा सबै आमाबुवाका हकमा लागु हुन्छ कि हुन्न तर चीनका गुओ ग्याङताङले आफ्नो हराएका छोरो खोज्न सकेजति सबै गरेका छन्।

सन् १९९७ सेप्टेम्बरको कुरा हो। पूर्वी चीनको सान्डोङ प्रान्तका ग्याङताङका छोरा २ वर्षका थिए। उनी घरको आँगनमा खेलिरहेका थिए। आमाबुवा अरू नै काममा व्यस्त थिए। त्यही बेला उनको अपरहण भयो।

त्यतिबेला चीनमा सरकारले दम्पतीले एकमात्र बच्चा जन्माउन पाउने कडा नीति लगाएको थियो। एकमात्र सन्तान जन्माउने पाउने भएकाले पितृसत्तात्मक चिनियाँ समाजमा छोराको महत्व निकै बढेको थियो। त्यही भएर बच्चाको अपहरण पनि बढेको थियो।

सरकारले नियमअनुसार जन्माउन पाउने एउटामात्रै छोरा आँगनबाटै अपहरणमा परेपछि ग्याङताङ बेचैन भए। उनले छोरालाई जसरी पनि खोजेर छाड्ने अठोट लिए। छोराको खोजीका लागि उनी मोटरसाइकल चढेर दर्जनौं सहर र गाउँ पुगे। मोटरसाइकलमा उनले आफ्नो छोराका दुई तस्बिर राखेका थिए।

उनी चीनका २० वटा प्रान्तमा पुगे। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार उनले झन्डै ५ लाख किलोमिटर यात्रा गरे। कहिले सडकमा लुटेरासँग लडे। कहिले दुर्घटनामा परे। कहिले पुलमुनि सुते। अनि पैसा सकिएपछि कहिले सडकमै बसेर मागे।

ग्याङताङले छोरा खोजिरहेको यो यात्रा यति कठिन थियो कि सन् २०१५ मा उनकै कथामा आधारित भएर फिल्म ‘लस्ट एन्ड लभ’ बन्यो। फिल्मलाई चिनियाँहरूले निकै मन पराए।

उनले पछि हराएका छोराछोरी खोज्न सहयोग होस् भनेर वेबसाइट बनाए।

आफ्नो छोरो नभेटाए पनि ग्याङताङले आफूजस्तै छोराछोरी हराएका अरू आमाबुवालाई सहयोग गरे। यो बीचमा उनले सात जना आमाबुवालाई उनीहरूका हराएका छोराछोरीसँग मिलन गराए।

ग्याङताङको झन्डै साढे २ दशक लामो खोजले केही दिनअघि पूरा भयो। सरकारी अधिकारीहरूले डिएनए परीक्षणबाट उनका छोरा भेटिएको खबर गरे।

अपहरणकारीले ग्याङताङ छोरालाई हेनान प्रान्तमा एक परिवारलाई बेचेका रहेछन्। उक्त परिवारले उनलाई हुर्काएछ। अहिले २६ वर्ष पुगेका उनी शिक्षक भएका रहेछन्।

२४ वर्षपछि मंगलबार ग्याङताङले आफ्ना छोरालाई अँगालो हाल्न पाए। चिनियाँ सञ्चारमाध्यमले प्रसारण गरेको भिडिओमा उनले भनेका छन्- मेरो छोरो भेटिएको छ। अबदेखि सबैथोक खुसीमात्रै हुनेछ।

आमाबुवा र छोराको यो पुनर्मिलनले अहिले चिनियाँ सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। धेरैले ग्याङताङको यो खोजको प्रशंसा गरेका छन्।

चिनियाँ अधिकारीहरू अपरहणमा परेका वा हराएकाहरूको खोजी गर्न डिएनए डाटाबेस बनाएको बताएका छन्। जसको सहयोगमा सन् २०१६ देखि अहिलेसम्म २ हजार ६ सय जना आमाबुवा-छोराछोरीको पुनर्मिलन भएको छ।एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!