हिपमत डटकम

बिहिबार, आषाढ २४, २०७८ || 1042  पटक पढिएको

काबुल । अफगानिस्तानमा तालिबान विद्रोही समूहको प्रभाव बढिरहँदा आम महिलाहरु हतियार बोकेर तालिबान विरुद्ध सडकमा उत्रिएका छन् । अफगानिस्तानको उत्तरी र मध्य क्षेत्रका सयौँ महिलाहरु हतियार बोकेर सडकमा उत्रिएका हुन् । उनीहरुले तालिबान विरुद्ध नारावाजी समेत गरेका छन् ।

ती महिलाहरुले राइफल बोकेर सडकमा प्रदर्शन गरिरहेका तस्बिर सामाजिक सञ्जालमा समेत व्यापक रुपमा सेयर गरिएको छ । घोर प्रान्तमा भएको यस प्रदर्शनलाई हालसम्मकै ठूलोमध्येको एक ठानिएको छ । तीमध्ये केही महिलाहरुले त आफू तालिबान विरुद्ध युद्ध नै लड्न तयार रहेको प्रतिक्रिया समेत दिएका थिए । गत साता १ हजारको संख्यामा अफगान सुरक्षाकर्मीहरु तालिबानसँग भागेर ताजिकिस्तान पुगेका थिए ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार उत्तरी क्षेत्रका अधिकांश भाग सहित दुईतिहाइ जिल्ला तालिबानले कब्जामा लिइसकेको छ । कतिपय स्थानमा त सुरक्षाकर्मीहरुले युद्ध नलडिकनै आत्मसमर्पण गरेका खबर आइरहेका छन् ।

अमेरिकाले भने सेप्टेम्बर ११ सम्ममा आफ्ना बाँकी सैनिक फिर्ता गरिसक्ने बताएको छ । त्यसो त अफगानिस्तानमा तालिबानको प्रभाव बढिरहँदा अमेरिकाले आफ्ना सेना फिर्ता लैजान लागेको हो । कतिपय विश्लेषकहरुले भने तालिबान काबुलको ढोकैमा आइपुगेको अवस्थामा अमेरिकाले सेना फिर्ता गर्न नहुने तर्क गर्दैआएका छन् ।

गत साता अमेरिकी सेनाले सबैभन्दा पुरानो बाग्राम एयरबेस अफगान सुरक्षाकर्मीलाई हस्तान्तरण गरेको थियो । यस्तो अवस्थामा घोर प्रान्तका महिलाहरुले सुरक्षाकर्मीको आत्मबल बढाउन प्रदर्शन गरेको जनाएका छन् ।

घोर प्रान्तस्थित महिला निर्देशनालय प्रमुख हलिमा पारास्तिनले महिलाहरुको प्रदर्शनबारे भनेकी छन् “त्यहाँ केही महिला छन् जो सुरक्षाकर्मीलाई प्रेरणा दिन चाहन्थे । सांकेतिक रुपमा मात्रै । तर अरु थुप्रै महिला युद्धमैदानमै जान तयार छन् ।”

उनले अघि भनेकी छन् “त्यसमा म पनि थिएँ । र अरु केही महिलाहरुले हामी युद्धमा जान तयार छौँ भनेर एक महिनाअघि नै गभर्नरलाई भनिसकेका छन् ।”

तालिबानले ग्रामिण इलाकाहरु कब्जामा लिइसकेको बताइएको छ । र ती कब्जामा लिइएका क्षेत्रमा तालिबानले महिलाहरुको शिक्षा, पहिरन, आवागमन लगायत दैनिक गतिविधिमा समेत नियन्त्रण राखेको छ ।

“कुनै पनि महिला लडाइँ गर्न चाहँदैन । म मेरो शिक्षालाई निरन्तरता दिन र हिंसाबाट टाढै रहन चाहन्छु । तर परिस्थितिले म र अरु महिलाहरुलाई खडा गराइदिएको छ,” उत्तरी क्षेत्र जोज्जन प्रान्तकी एक पत्रकारले भनिन् । ती पत्रकारले प्रान्तीय राजधानीस्थित एक दिने हतियार सञ्चालन सम्बन्धी तालिममा सहभागी समेत भएकी थिइन् । कतिपय स्थानमा त महिलाहरुले तालिबान विरुद्ध दस्ता समेत तयार गरेका छन् ।

अमेरिकी तथा नेटो सैनिक फिर्ताको अन्तिम चरणमा रहँदा तालिबान विद्रोहीले भने आक्रमण तिब्र बनाएको छ । अमेरिकाको ट्वीन टावरमा हमलापछि अमेरिकाले २००१ मा अफगानिस्तानको तालिबान सरकार अपदस्थ गर्दै आफू अनुकुलको सरकार गठन गरेको थियो । साथै अमेरिकाले ठूलो संख्यामा सैनिक तैनाथ गरेको थियो । अमेरिकाले ट्वीन टावर ध्वस्त पारिएको दिन अर्थात सेप्टेम्बर ११ सम्म आफ्ना बाँकी सैनिक फिर्ता लैजाने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!