हिपमत डटकम

बिहिबार, चैत्र १२, २०७७ || 1062  पटक पढिएको

जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ ।

भारतबाट कोरोना संक्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

उनका अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले भारतीय सीमाबजार रुपैडियामा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य जाँच गरेर मात्र नेपाल भित्रिन दिने र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने गराउने निर्णय समेत गरेको छ ।

 

लक्षण देखिएका बिरामीको एन्टिजीन परीक्षण गरी सामान्य अवस्थाका यात्रुलाई १० दिन अनिवार्य होम क्वारेन्टीनमा बस्ने गरी घर पठाउने र सिकिस्त बिरामीलाई सिधै भेरी अस्पतालमा पठाउने निर्णय भएको प्रजिअ कुरुम्बाङले जानकारी दिए ।

अनावश्यकरूपमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सभा, सम्मेलन, गोष्ठी र सेमिनार गर्न पनि डीसीसीएमसीले आग्रह गरेको कोभिड जिल्ला स्रोतव्यक्ति तेज ओलीले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि बाँकेका ८ वटै स्थानीय तहलाई क्वारेन्टीन निर्माण लगायतका आवश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन दिएको छ ।

भारतबाट आएका नागरिकलाई जमुनाह नाकामा स्थापना गरिएको स्वास्थ्य जाँच कक्षमा जाँच गरी १० दिन क्वारेन्टीनमा राख्नुपर्ने र भेरी अस्पताल लगायतका स्वास्थ्य संस्थामा रहेका आइसोलेसनलाई प्रभावकारी बनाउने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

भारतबाट नेपाल फर्किने सर्वसाधारणको स्वास्थ्य जाँचको लागि नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाकामा सुविधासम्पन्न स्वास्थ्य कक्ष स्थापना गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले नाकामा स्वास्थ्य कक्ष स्थापना गरेर कोरोना परीक्षण शुरू गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार जमुनाह नाकामा स्वाब लिएको १५ मिनेटमा कोरोनाको रिपोर्ट निकाल्ने प्रविधि सहितको स्वास्थ्य कक्ष सञ्चालनमा आएको छ ।

बुधवार पहिलो दिन मुम्बई, दिल्ली, महाराष्ट्र लगायतका शहरबाट आएका १० नेपालीको कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!