बुधवार प्रतिनिधि सभा पुनस्र्थापनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको पहिलो औपचारिक बैठकले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको संवैधानिक इजलासबाट गरिएको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
परराष्ट्र मन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले सर्वोच्चले तोकेकै अवधिभित्र संसद् अधिवेशन आह्वान हुने जानकारी समेत दिएका छन् ।
प्रवक्ता ज्ञवालीले सञ्चारकर्मीमाझ ‘नेकपा शक्तिपृथकीकरण, लोकतन्त्रका आधारभूत मूल्य मान्यता र विधिको शासनमा विश्वास गर्ने पार्टी हो । हिजो संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय गरेका छौं,’ भनेका छन् ।
संसद्को चौथो अधिवेशन निर्धारित समयमै आह्वान हुन्छ । त्यस पछाडिको राजनीतिक परिदृष्य कस्तो हुन्छ भन्नेमा विषयमा सम्बन्धित सबैसँग छलफल भई रहेको ज्ञवालीले बताएका छन् ।
प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएको छ ।