हिपमत डटकम

शनिबार, फाल्गुण ०१, २०७७ || 701  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले हजारौं सहिदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संशय पैदा भएको बताएका छन्।

जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा शनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूलो बलिदानीपछि प्राप्त उपलब्धी नै गुम्ने खतरा सिर्जना भएको बताए।

उनले भने, ‘यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ। कहीँकतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि? कहीँ हजारौं सहिदहरूले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि? भन्ने खतरा पैदा भएको बेला पनि छ।’

यस्तो बेलामा जीवनगाथा प्रकाशित गरेर वैधानिक ढंगले अगाडि ल्याउँदा विशेष अर्थ र महत्व नेपालको इतिहासमा रहिरहने उनले बताए।

‘यसले हामीले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरूको रक्षाका निम्ति पनि यसले प्रेरणा दिनेछ,’ उनले भने।

जनयुद्धमा सहिद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते योद्धाहरूको जीवनगाथा सार्वजनिक गर्नका लागि जनयुद्ध सुरू गरेकै दिन रोजेकोमा उनले बारबर्दिया नगरपालिकालाई धन्यवाद पनि दिए।

युद्धकालीन समयमा योगदान पुर्‍याएका व्यक्तित्वका बारेमा विभिन्न पुस्तकहरू प्रकाशित भए पनि सरकारका तर्फबाट वैधानिक ढंगले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्तावेज भएको भन्दै जीवनगाथा प्रकाशित गर्नेमा देशभरिको पहिलो नगरपालिका भएकोमा पनि उनले धन्यवाद दिए।

अध्यक्ष दाहालले बारबर्दिया नगरपालिकाले गरेको यो कामले युद्धबाट पीडित देशभरका सबै परिवारले न्याय पाउने प्रेरणा हुने विश्वास आफूले लिएको बताए।

बारबर्दियाले सुरू गरेको काम देशैभरि हुनेछ भन्ने विश्वास आफूले लिएको पनि उनले उल्लेख गरे।

युद्धकालिन समयमा भएको बलिदानीसँगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनको साथै शान्ति सम्झौतालाई सफल पार्न आफूहरूले खेलेको भुमिका लगायत सबै काम युगान्तकारी भएको टिप्पणी उनले गरे।

दाहालले पार्टीको नेताको र युद्धको परिकल्पनाकारको हैसियतले आफूले उत्पीडित समुदायहरूको विचार र उत्पीडनलाई उजागर गर्न भूमिका मात्रै खेलेको तर तात्कालीन विद्रोह उत्पीडित समुदायको विद्रोह नै भएको बताए। उनले तत्कालिन समयमा थारु समुदायले खेलेको भूमिकाको पनि प्रशंसा गरे।

‘जीवनगाथा’ पुस्तकमा जनयुद्धको तयारीको क्रममा बारबर्दिया जिल्लामा सहिद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते योद्धाहरूको जीवनगाथा संग्रहित गरिएको छ। प्रकाशित जीवनगाथामा ६ सय ८० योद्धाहरुको जीवनी समेटिएको छ। तीमध्ये ३ सय २८ सहिद तथा मारिएका व्यक्तिहरू, २ सय ५० जना बेपत्ता पारिएका व्यक्तिहरू र १ सय २ जना घाइते तथा अपांङ्गता भएका व्यक्तिहरूको जीवनगाथा छ।

बर्दिया जिल्लाका ६ वटा नगरपालिकाहरु बाँसगढी, बारबर्दिया, गुलरिया, मधुवन, ठाकुरबाबा र राजापुर समेटिएका छन्। त्यसैगरी, बढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिकाका ७५ वटा वडाहरुमा वडागत रुपमा जीवनगाथा श्रेणीबद्ध गरिएको छ। यसका साथै घटनाहरु वर्णानुक्रम अनुसार शृंखला मिलाएर राखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!