नेकपा प्रचण्ड-नेपाल समूहले बिहीबार आयोजना गरेको आमहड्तालका क्रममा प्रदेश १ का चार जिल्लामा ८ वटा सवारीसाधन तोडफोड भएको छ।
नौ जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मोरङमा ३, सुनसरीमा ३, झापा र इलाममा १/१ गरी ८ वटा सवारीसाधन तोडफोड भएको छ। त्यस्तै, मोरङमा ६ र सुनसरीमा तीन जना आन्दोलनकारी पक्राउ परेका हुन्।
बन्दकर्ताहरूले प्रदेश-१ को राजधानी विराटनगरमामात्र तीन वटा सवारी साधन तोडफोड गरेका छन्।
विराटनगरको रोडशेषचौकमा बिहान भारतीय नम्बर प्लेटको सवारीसाधन तोडफोड गरेका हुन्।
रानी-विराटनगर सडक खण्डअन्तर्गत दक्षिणदेखि विराटनगरतर्फ आउँदै गरेको १० सिजेएच ४४४ नम्बरको स्कारपियो गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ।
बन्दकर्ताले तोडफोड गरेको उक्त गाडी आइसीपी निर्माण कम्पनीको हो।
यस्तै, विराटनगर २ तीनपैनीस्थित बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड भयो। तीनपैनी चौक अगाडि सरकारी गाडी तोडफोड भएपछि मोरङ प्रहरीले नेकपा मोरङको पार्टी कार्यालय अगाडिदेखि मोरङ जिल्ला संघर्ष समितिका सह-संयोजक पारुल क्षेत्रीसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो।