
त्यो ३० डिसेम्बरको रात थियो । भारतको हैदराबादको यूसुफगुडाको एक कम्पाउन्डमा केही मानिसहरु रक्सी पिइरहेका थिए । सबैजना नशामा झुमिरहेका थिए । यसै कम्पाउन्डमा अन्य दुई मानिसहरु पनि थिए ।

यीमध्ये एक ५० वर्षका महिला र एक करिब ४५ वर्षका पुरुष थिए । यी व्यक्ति बिस्तारै ती महिला नजिकै गए, कुराकानी गर्न थाले । उनले ती महिलासँग केही बेर कुरा गरे र त्यसपछि दुबैजना त्यो कम्पाउन्डबाट बाहिर निस्किए । यी दुई शहरको बाहिरी इलाकामा केही सुनसान स्थानको खोजीमा निस्किए ।
त्यसपछि उनीहरु केही पर रहेको सुनसान स्थान अंकुशापुर पुगे । त्यहाँ पुगेर दुबैले पुनः रक्सी पिए तर त्यसपछि उनीहरुको झगडा हुन थाल्यो । झगडा यति बढ्यो कि यी व्यक्तिले महिलालाई ढुङ्गाले हानेर उनको हत्या गरिदिए । त्यसपछि उनी त्यहाँबाट भागे ।
यो घटनाको २० दिन अघि मात्रै १० डिसम्बरमा पनि यस्तै घटना बालानगरको ताडी कम्पाउन्डमा भएको थियो । यी व्यक्ति त्यहाँ पनि पुगेका थिए । त्यहाँ पनि उनले एक एक्ली महिलालाई भेटे । ती महिला ३५ देखि ४५ वर्ष भित्रकी थिइन् । दुबैले त्यहाँ रक्सी पिए । उनले त्यहाँ महिलालाई धेरै थरी कुरा गरेर ललाई फकाई पारेर बाहिर ल्याए ।
दुबै शहरको सुनसान इलाका तिर हिँडे । उनीहरु सिंगायापल्ली नामको गाउँमा पुगेका थिए । दबैले पुनः रक्सी पिए । त्यसपछि ती व्यक्तिले महिलाले लगाएको साडीले घाँटी अँठ्याएर हत्या गरे र त्यहाँबाट भागे ।
यी व्यक्तिको यो दोस्रो हत्या थिएन । यो आँठौं हत्या थियो ।
यी व्यक्तिको कुरामा विश्वास गरेर ती व्यक्तिसँग जाने कुनै पनि महिला अहिलेसम्म जिउँदो फर्किएका छैनन् ।
यी व्यक्तिको नाम हो रामुलु । यूसुफगुडाकी महिलासमेत यी व्यक्तिले १८ महिलाको हत्या गरेका छन् । यीमध्ये सबै महिला एक्ला थिए र यी सबैको हत्या एकै तरिकाले गरिएको थियो । सबै हत्या हैदराबादको बाहिरी सुनसान इलाकामा भएको थियो ।
९ हत्याकै बेला प्रहरीले उनलाई पक्राउ गर्न सक्थ्यो । सन् २००३ को तूरपान प्रहरी स्टेशनको इलाकामा, सन् २००४ मा रायादुर्गाम प्रहरी स्टेशनको क्षेत्रमा, सन् २००५ मा संगारेड्डी प्रहरी स्टेशन, सन् २००७ मा रायदुर्ग स्टेशनको डुंडीगल स्टेशनको इलाकामा, सन् २००८ मा नरसापुरमा र सन् २००९ मा कुकाटपल्लीमा दुई हत्याको सिलसिलामा हत्यारालाई पक्राउ गर्न सकिन्थ्यो ।
प्रहरीले पहिलो पटक नरसंगी र कोकटपल्ली इलाकामा भएको हत्यालाई गम्भीरतापूर्वक लिए । कडा अनुसन्धान पछि यसलाई सुल्झाइयो । प्रहरीले चार्जशीट दर्ता गर्यो ।
रामुलुविरुद्ध दर्ता भएको दोस्रो मामिला त्यतिबेला घटित भएको थिएन तर सन् २००९ को कुकाटपल्ली र नरसंगीको मामिलामा सन् २०११ मा फेब्रुअरीमा रंगारेड्डी अदालतले उनलाई दोषी ठहर गर्यो र उनलाई आजीवन कारावास र ५०० भारुको जरिवानाको सजाय दिइयो ।
रामुलुको ‘फिल्मी प्लान’
तर रामुलुले पूरा जीवन जेलमा बिताउन बाट बच्नका लागि एउटा योजना बनाएका थिए ।
उनले एक मानसिक रोगीले झैं व्यवहार गर्न सुरु गरे । मानिसहरुलाई लाग्यो कि उनी साँच्चै नै बिरामी छन् । त्यसपछि उनलाई एरागड्डा मानसिक अस्पतालमा सन् २०११ मा भर्ना गरियो ।
एक महिनासम्म त्यहाँ बसेपछि उनी ३० डिसेम्बरको राती भागे । आफूसँगै उनले अन्य पाँच कैदीलाई पनि भगाए जसले मानसिक रोगको उपचार गराइरहेका थिए ।
यो सिलसिलामा एसआर नगर प्रहरी स्टेशनमा मामिला दर्ता गरिएको थियो ।
जेलबाट भागेपछि रामुलु महिलाको हत्या गर्ने आफ्नो काममा पुनः लागे । सन् २०१२ र २०१३ मा बोवेनपल्लमा दुई हत्या, सन् २०१२ मा चन्दानगरमा, सन् २०१२ मा डुंडीगलमा दुई हत्या र गरे र यी पाँचै हत्या महिलाको थियो ।
प्रहरीले यी हत्यामाथि पुनः ध्यान दिन सुरु गरे । मे सन् २०१३ मा बोवेनपल्ली प्रहरीले रामुलुलाई पुनः पक्राउ गर्यो । यसपटक उनलाई पाँच वर्षको जेल सजाय दिइयो ।
रामुलुको कानूनमा राम्रो पकड छ वा उनीसँग राम्रा वकिल छन्, त्यो थाहा भएन तर सन् २०१८ मा हाइकोर्टमा उनले अपिल गरे र आफ्नो सजाय कम गराउन सफ भए । सन् २०१८ को अक्टोबरमा रामुलुको पक्षमा निर्णय आयो । उनलाई रिहा गरियो ।
बाहिर आउने बित्तिकै उनले पुनः हत्या गर्न सुरु गरे । सन् २०१९ मा उनले शमीरपेटमा एकजना र पट्टन चेरुवुमा अर्को एउटा हत्या गरिदिए । त्यतिबेलासम्म उनले १६ जना महिलाको हत्या गरिसकेका थिए ।
एकपटक उनलाई पुनः पक्राउ गरियो । उनलाई जेलमा राखियो र एकपटक पुनः जुलाई सन् २०२० मा उनी जेलबाट भाग्न सफल भए ।
हत्याको सिलसिलाः
जुलाई सन् २०२० मा रिहा भएपछि उनले पुनः दुई हत्या गरे । ५० वर्षकी महिलाका श्रीमान उनी गायब भएपछि प्रहरीको ढोका ढक्ढकाएका थिए । त्यसपछि जुबिली हिल्स प्रहरी स्टेशनमा हराएको ऊजुरी दर्ता भयो ।
चार दिन पछि घाटकेश्वर प्रहरीले एक अज्ञात महिलाको शव भेट्यो । प्रहरीले यसबारे अनुसन्धान सुरु गर्यो ।
अन्त्यमा हैदराबाद र राचनकोंडाको प्रहरीले आपसमा कुराकानी गरे । सिसीटीभी क्यामराबाट थाहा भयो कि महिला कुनै व्यक्तिसँग कुरा गरिरहेकी थिइन् । फुटेजको अनुसन्धान गर्दा कुरा स्पष्ट भयो । घटनाको गहन अनुसन्धान भयो ।
त्यसपछि यसबारे अनुसन्धान गरिरहेको समूहले सन् २००९ को केसको अनुसन्धान गर्यो जसमा रामुलुलाई दोषी ठहर गरिएको थियो । जब अनुसन्धान अधिकारीले सिसिटिभी फुटेजमा फोटो देखे तब उनीहरुलाई शंका लाग्यो ।
जुन तरिकाले हत्या भयो त्यसको तरिका मिल्दोजुल्दो थियो । यस्तोमा उनीहरुले पुराना घटनालाई केलाउन सुरु गरे । त्यसपछि रामुलु यी घटनामा समावेश भएको पुष्टि भयो ।
कस्तो छ हत्याको तरिका ?
रामुलुका शिकार एक्ली महिलाहरु हुन् । उनी यी महिलालाई पसल वा रक्सी पिउने अड्डामा दोस्ती गाँस्ने गर्दथ्यो । उनले ती महिलालाई विभिन्न तरिकाले लोभ्याउँथे र यसै बहानामा उनीहरुलाई सुनसान स्थानमा लैजान्थे ।
त्यहाँ उनी आफ्ना यौन इच्छा पूरा गर्दथे र त्यसपछि महिलाको हत्या गरिदिन्थे । धेरैजसो मामिलामा उनले साडीले नै महिलाको घाँटी अँठ्याएर हत्या गरेका थिए ।
केहीलाई उनले ढुङ्गाले हानेर पनि हत्या गरेका थिए । उनले हत्या पछि यी महिलाको गहना पनि चोर्दथे ।
रामुलुकी शिकार महिला गरिब वा निम्न मध्यम वर्गका हुन्थे ।
रामुलु संगारेड्डी जिल्लाको कान्डी मंगल गाँजका हुन् । २१ वर्षको उमेरमा उनले विवाह गरेका थिए । केही समयपछि उनकी श्रीमतीले उनलाई छोडेर गएकी थिइन् । स्थानीयका अनुसार त्यसपछि उनले अर्की एक महिलालाई विवाह गरे । तर हालको समयमा उनीसँग कोही पनि बस्दैनन् ।
हालको दुई हत्याबाहेक पनि रामुलु अन्य २१ मामिलामा अभियुक्त हुन् । यीमध्ये १६ हत्या र चार चोरीको घटना समावेश छन् ।
एउटा मामिला प्रहरी हिरासतबाट भाग्नु पनि हो । यीमध्ये दुई मामिलामा उनले आजीवन कैदको सजाय पाएका छन् ।
प्रहरीको जानकारीमा आए अनुसार उनले १८ महिलाको हत्या गरेका छन् ।
हाल घाटकेश्वर प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ ।
बीबीसी