
सैन्य संगठन लस्कर ई तइवाका वरिष्ठ नेता जाकिर रहमान लक्भीलाई पाकिस्तानको एक अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । आतंकवादका लागि आर्थिक सहयोग गरेको भन्दै उनलाई शुक्रबार जेल सजाय सुनाइएको हो । रकम संकलन गर्दै त्यसलाई आतंकवादी गतिविधिमा प्रयोग गर्ने गरेको अदालतको ठहर छ ।

सन् २००८ को मुम्बई हमलाको संयोजन लक्भीले नै गरेको आरोप अमेरिका र भारतले लगाउँदै आएका छन् । यस हमलामा १ सय ६० जना मारिएका थिए । गत साता पाकिस्तानको पञ्जावस्थित आफैंले सञ्चालन गरेको एक औषधालयमा उनी पक्राउ परेका थिए । यस औषधालयलाई लक्भीले रकम संकलनका लागि प्रयोग गर्ने गरेको पञ्जावको आतंकवाद निरोधक टोलीले जनाएको छ । अमेरिकाले लगत्तै उनको पक्राउको स्वागत गरेको थियो ।
लस्कर ई तइवा पाकिस्तानस्थित सैन्य संगठन हो । भारत प्रशासित कास्मिरमा आक्रमण गरेपछि दुई दशकअघि यो संगठन चर्चामा आएको थियो । डिसेम्बर २००१ मा भारतीय संसद्मा भएको आक्रमणमा पनि यो समूह संलग्न रहेको भारतको आरोप छ । यस आक्रमणपछि भारत र पाकिस्तानबीच सम्बन्ध बिग्रिएको थियो । यस समूहका १० जना बन्दूकधारीले २००८ मा मुम्बईमा आक्रमण गरेका थिए । उनीहरुले दुई विलासी होटल, रेल वे स्टेशन,एउटा अस्पतल, यहुदीहरुको सांस्कृति केन्द्र र मुम्बईका अन्य केही क्षेत्रमा धावा बोलेका थिए ।
हमला लगत्तै भारतले आक्रमणमा संलग्नहरुमध्ये लक्भी एक रहेको जनाएको थियो । भारतीय अधिकारीहरुका अनुसार आक्रमणकारीहरुको यात्राका क्रममा लक्भी उनीहरुसँग सम्पर्कमा थिए ।