
अष्ट्रेलियालीहरुले आजबाट नयाँ भर्सनको राष्ट्रिय गान गाउने भएका छन् । प्रधानमन्त्री स्टक मोरिर्सनले राष्ट्रिय गानका केही शब्दहरु फेरिएको घोषणा बिहीबार गरेका हुन् । नयाँ राष्ट्रिय गानले अष्ट्रेलियालाई ‘युवा र स्वतन्त्र’ भनेर संकेत गर्नेछैन । बरु, आफ्नो पुरानो आदिवासी इतिहासलाई झल्काउनेछ । घोषणा आश्चर्यजनक भएपनि यसको चौतर्फी स्वागत भएको छ । यस परिवर्तनले एकताको भावना सिर्जना गर्ने विश्वास मोरिर्सनले व्यक्त गरेका छन् ।

१८ औं शताब्दीमा अङ्ग्रेजहरुले बसोबास थाल्नुभन्दा हजारौं वर्षअघि नै अस्ट्रेलियामा मानव बसोवास थियो । त्यसैले राष्ट्रिय गानबाट ‘हामी युवा र स्वतन्त्र छौं’ भन्ने शब्द हटाएर ‘हामी एक र स्वतन्त्र’ भन्ने शब्द राखिएको छ । यसै वर्षको सुरुवातमा न्यु साउथ वेल्स राज्यका प्रिमियर ग्ल्याडिस बेरेजिकलियनले परिवर्तनका लागि सुझाउ दिएका थिए । राष्ट्रिय गानका शब्दहरुले अस्टे«लियाको ‘गर्विलो पहिलो राज्य संस्कार’ अवमूल्यन गरेको उनले बताएका थिए ।
‘योङ एन्ड फ्रिलाई परिवर्तन गरेर वान एन्ड फ्रि बनाउँदैमा केही जाँदैन, तर मेरो बुझाईमा धेरै कुरा थपिन्छ’ प्रधानमन्त्री मोरिर्सनले भने, ‘हामीले एउटा देशका रुपमा गरेको यात्राको दूरीलाई यसले पहिचान गरेको छ । यसले हाम्रो राष्ट्रिय कथा ३ सयभन्दा धेरै समुदाय र भाषिक समूहबाट निर्माण भएको छ र पृथ्वीमा हामी सबैभन्दा सफल बहुुसाँस्कृतिक देश हौं भन्ने स्वीकारेको छ ।’
विपक्षी नेता एन्थोनी अल्बानेशले भनेका छन्, ‘हामीले गर्व गर्नुपर्छ कि हामीसँग फस्र्ट नेशन जनतासँगै यस ग्रहको सबैभन्दा पुरानो निरन्तर सभ्यता छ ।’ पछिल्ला वर्षहरुमा सांस्कृति र राजनीतिक घटनामा आदिवासी इतिहासलाई पहिचान गर्नमा अष्ट्रेलिया ले ठूलो प्रयास गरिरहेको छ ।
गत डिसेम्बरमा रग्बीको राष्ट्रिय टिमका खेलाडीहरुले पहिलोपटक आदिवासी भाषामा राष्ट्रिय गान गाएका थिए । उनीहरुले पहिले ‘इओरा’ भाषामा राष्ट्रिय गान गाएपछि मात्रै अंग्रेजीमा राष्ट्रिय गान गाएका थिए । इओरा सिड्नीमा बस्ने आदिवासी जनताको मातृभाषा हो ।