
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्व क्याम्पेन म्यानेजर पल म्यानफोर्ट, पूर्व सल्लाहकार रोजर स्टोन र आफ्ना सम्धी (ज्वाईंका पिता) लाई माफी दिएका छन् ।

पल मेनाफोर्टलाई सन् २०१८ मा अमेरिकाको २०१६ मा भएको राष्ट्रपति चुनावमा कथित रुपमा रुसी दखलमा दोषी ठहर गरिएको थियो ।
यसअघि ट्रम्पले रोजर स्टोनको सजाय कम गरिदिएको थियो । अमेरिकी कांग्रेससँग झुटो बोलेको भन्दै उनलाई दोषी ठहर गरिएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अर्को महिना कुर्सीबाट हट्नु अघि २९ जनालाई माफी दिएका छन् जसमा यी तीनजना पनि समावेश छन् ।
यीमध्ये २६ जनालाई पूर्ण रुपमा माफी दिइएको छ भने जबकी तीनजनाको सजाय कम गरिएको छ ।
धेरैजसो राष्ट्रपतिले आफ्नो कार्यकालको अन्तिम दिनमा मानिसहरुलाई माफी दिने चलन छ । ट्रम्पले यो अधिकारको प्रयोग जर्ज एचडब्ल्यू बुशबाहेक आधुनिक इतिहासमा कुनै अन्य अमेरिकी राष्ट्रपतिभन्दा कम नै गरेका छन् ।
पल मेनाफोर्टले के प्रतिक्रिया दिए ?
ट्रम्पले माफी दिएपछि उनको चुनाव अभियानका पूर्व प्रखुम मेनाफोर्ट साढे सात वर्षको जेल सजाय पुरा गर्नबाट बचेका छन् । उनलाई आर्थिक हिनामिना र आफ्नो अनुसन्धानमा बाधा गर्न षड्यन्त्र रच्नका लागि सजाय दिइएको थियो ।
जब कोरोनाभाइरको खतरा बढ्यो तब उनलाई संघीय जेलबाट रिहा गरेर उनको घर पठाइदिएको थियो । त्यतिबेला देखि नै उनी थप सजाय घरमै बसेर काटिरहेका थिए । तर अब उनी स्वतन्त्र छन् ।
मेनाफोर्टले ट्वीट गरेर ट्रम्पलाई धन्यवाद दिएका छन् । उनले लेखे, ‘राष्ट्रपति, मेरो परिवार म तपाईंले दिनुभएको क्षमाका लागि आभारी छौं । तपाईंलाई आभार व्यक्त गर्नका लागि मसँग पर्याप्त शब्द छैनन् । ’
रोजर स्टोनले के भने ?
स्टोनलाई हाउस इन्टेलिजेन्स कमेटीसँग झुटो बोलेकोमा दोषी पाइएको थियो । उनले विकिलिक्ससँग सम्पर्क गर्ने कोसिसलाई लुकाउन खोजेको बताइन्छ ।
विकिलिक्स त्यहि वेबसाइट हो जसले सन् २०१६ को चुनावमा ट्रम्पको डेमोक्रेटिक प्रतिद्वन्द्वी हिलेरी क्लिंटनबारे इमेल रिलिज गरेको थियो । यी इमेलका कारण नै हिलेरीले चुनावमा क्षती व्यवहोर्नुपरेको बताइन्छ ।
ट्रम्पले उनको सजायलाई सुरुमा कम गर्दै पछि पूर्ण रुपमा माफ गरिदिए । यसमा ट्रम्पले लामो समयसम्म साथी तथा सल्लाहकार रहेका रोजरले बुधबार राती यो निर्णयको स्वागत गरे ।
उनको भनाई उद्धृत गर्दै पोलिटिकोले भनेको छ, ‘म राजनीतिबाट प्रेरित सोभियत–शैलीको ट्रायल’ को पीडित हुँ ।’
स्टोनले ट्रम्पलाई ह्वाइट हाउसबाट निस्कनुअघि विकिलिक्सका सह–संस्थापक जुलियन असांज र राष्ट्रिय सुरक्षा एजेन्सीसँग सम्बन्धित जानकारी लिक गर्ने एडवर्ड स्नोडेनलाई पनि माफ गरिदिन अपिल गरेका छन् ।
चार्ल्स कुशनरले के भने ?
माफी पाउनेमध्ये एक रियल इस्टेट पुँजीपति चार्ल्स कुशनर पनि हुन् जुन इभांका ट्रम्पका श्रीमान् तथा ह्वाइट हाउसका सल्लाहकार जेरेड कुशनरका पिता हुन् ।
कुशनरको परिवारसँग न्यूयार्कदेखि भर्जिनियासम्म २० हजार सम्पत्तिको पोर्टफोलियो छ । उनले सन् २००४ मा कर छली, अभियानको फन्डसँग जोडिएको अपराध र साक्षीमाथि छेडछाड गरेकोमा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाइएको थियो ।
साक्षीसँग छेडछाडको मामिला जेरेड कुशनरका भिनाजुसँग सम्बन्धित छ जसले उनीविरुद्ध प्रशासनलाई साथ दिइरहेका थिए । कुशनरले आफ्ना भिनाजुलाई बहकाउनका लागि एक यौनकर्मीलाई पैसा दिएका थिए । त्यसपछि एक हिडन क्यामराको मद्दतले दुबैको भेटघाटलाई रेकर्ड गरियो र भिडियो आफ्नी दिदीलाई पठाएका थिए ।
कुशनरलाई जेल पुर्याउने न्यू जर्सीका अभियोजक र ट्रम्पका पूर्व सल्लाहकार क्रिस क्रिस्टीले सीएनएनसँग यो ‘सबैभन्दा घृणित अपराधमध्येको एक अपराध’ भएको बताएका थिए ।