
कोरोना भाइरसले संसारभरि ५ लाख ७२ हजारभन्दा बढीको ज्यान लिइसकेको छ, तर कतिलाई अझै पनि यो ‘भ्रम’ हो कि भन्ने लाग्छ। महामारीलाई यस्तै ‘भ्रम’ ठान्ने एक अमेरिकी व्यक्तिले हालै त्यसको नराम्रो नतिजा भोग्नुपर्यो। टेक्सासका ३० वर्षीय व्यक्ति ‘कोभिड–१९’ पार्टीमा भाग लिएर आएपछि कोरोना भाइरसबाट संक्रमित भए र उपचार क्रममा उनको ज्यान गयो। ‘कोभिड पार्टी’ भनेको अमेरिकामा पछिल्लो समय चलेको एक जमघट हो, जसमा संक्रमितले साथीहरूलाई निम्ता गर्छन्। उनीहरू यो भाइरस परास्त गर्न सकिन्छ भनेर पुष्टि गर्न त्यस्ता पार्टीमा सरिक भएर संक्रमितसँगै खाने–पिउने गर्छन्। त्यस्तै एउटा पार्टीमा भाग लिएर आपछि टेक्सासका ती युवालाई संक्रमण भएको थियो। रोगले च्याप्दै लगेपछि उनी उपचार गर्न सान एन्टोनियोको मेथोडिस्ट अस्पताल भर्ना भएका थिए। त्यहाँका मेडिकल अफिसर जेन एप्प्लबाईका अनुसार, उनलाई कोरोना भाइरसप्रति कुनै विश्वास थिएन। अमेरिकामै यसले १ लाख ३५ हजारभन्दा बढीको ज्यान लिइसक्दा पनि उनी यसलाई ‘भ्रम’ नै मान्थे। ‘कसैलाई भाइरस संक्रमण भयो भन्ने थाहा पाएपछि आफ्ना साथीहरू डाकेर पार्टी दिन्थे। उनीहरू सबै त्यो पार्टीमा सरिक भएर भाइरस परास्त गर्न सकिन्छ भनेर देखाउन चाहन्थे,’ एप्पलबाईले आइतबार अमेरिकी सञ्चार माध्यमसँगको भिडियो वार्तामा भनेकी छन्।

Patient in 30s dies after attending 'COVID party'
"Just before the patient died, they looked at their nurse and said 'I think I made a mistake, I thought this was a hoax, but it's not,'" Chief Medical Officer Methodist Healthcare Dr. Jane Appleby tells @News4SA #WearADamnMask pic.twitter.com/AsRlaD24P0
— Steven Spohn (Spawn) (@stevenspohn) July 11, 2020
‘उनी सोच्थे– युवाहरूलाई कोरोनाले छुन सक्दैन। संक्रमण भइहाल्यो भने पनि गम्भीर असर पार्दैन,’ एप्पलबाईले भनिन्, ‘आफैं संक्रमित भएर अस्पताल भर्ना हुनुपरेपछि उनले पछुतो मान्दै नर्सलाई भनेका थिए– मलाई लाग्छ, हामीले त्यसरी पार्टी गरेर गल्ती गर्यौं।’ उनका अनुसार युवा बिरामीहरूलाई यो रोगले थला पारिसकेको झट्ट थाहा हुँदैन ‘युवाहरू त्यतिसाह्रो बिरामी देखिँदैनन्। जब हामी अक्सिजनको मात्रा नाप्छौं र अरू परीक्षण गर्छौं, उनीहरू बाहिरबाट देखिनेभन्दा बढी नै गम्भीर अवस्थामा पुगिसकेका हुन्छन्,’ कोरोना महामारीलाई सबैले गम्भीर रूपमा लिन आग्रह गर्दै उनले भनिन्। अमेरिकामा अहिले दोस्रो चरणको संक्रमण सुरू भएको छ। संक्रमित संख्या र केही राज्यहरूमा मृत्युदर फेरि बढ्न थालेको छ। यसका बाबजुद ट्रम्प प्रशासनले स्कुलहरू पूर्ण रूपमा खोल्न दबाब दिइरहेको छ। संसारभरिमा कोरोना संक्रमित र मृत्यु संख्या सबभन्दा बढी अमेरिकामै छ। टेक्सासमा मात्र आइतबार ८ हजार १ सय ९६ जना नयाँ संक्रमित थपिए। त्यहाँ अहिलेसम्म २ लाख ५८ हजार ६ सय ५८ जना संक्रमित छन्। मृत्यु संख्या ३ हजार २ सय नाघेको छ। विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घन्टामा कोरोना पुष्टि हुनेको संख्या २ लाख ३० हजार नाघेको जनाएको छ। साउथ चाइना मर्निङ पोस्ट