पहाडी खेतका गरा र आलीबाट
छङछङ झरेको पानीको लयमा
एक अर्कामा हिलो छ्यापाछ्याप गर्दै
थकाइ मार्न दही च्युरा खाँदै खुवाउँदै
कतै बादलको मादल घन्केको
कतै पंचेबाजा बजेको बेलामा
उत्कर्ष र उत्सर्गको मेलामा
आसारे भेल छोप्न- धानका बिरुवा रोप्न।
मानोको मुरी फलोस् भने कामनाका साथ
खेत खेतमा जोतिएका छन
गोरू पनि, मानिस पनि।
छुपुमा छुपु छुपु गर्दै धान दिवस मनाउँदै।
मस्त छन् ठेंगारहरू आली धुरी मिलाउन
खलेगरोमा नारिएका गोरुहरू तैयार छन्
तम्सिएका जोशीला खेलाडी जस्तै खेल जीत्न
एक स्वर्गीय आनन्दले विभोर छन् सबै गाउँले
“असारे मासको दबदबे हिलो छि:मलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो”
भाका हाली हाँस्दै नाच्दै असारे गीत गाउँदै।
छुपुमा छुपु छुपु गर्दै धान दिवस मनाउँदै।
महिलाहरूले गाउँदा
रोपाहारहरूले हालेको लयबद्ध भाकाले
गाउँलेहरू झुमिरहेका छन् सबै
नानीहरू हलको खोकमा चढेर
रमाइ रहेका छन कतै।
यी हाम्रा जीवन परिदृश्यहरूलाई जीवन्त राख्न युवाशक्तिलाई बग्न दिनु पर्यो आफ्नै भूमिमा यतै
देशको जमीन र जवानीको
उर्वराशक्तिलाई स्खलित हुनबाट रोक्दै
छुपुमा छुपु छुपु गर्दै, धान दिवस मनाउँदै।
त्यो असारको चटारो यो धान दिवसको आनन्द
अखबारको शिर्षक हुने इच्छा त्यागेर
अब पाँचतारेको प्रकोष्ठमा गमलामा रोपने
फोटो सेसनबाट निकालेर
भुटेर पिसेको तोरीको अचार, चाम्रे
र छोप खांदाको मीठो स्वाद
र हल्लो जोत्ने साथीका साथ मनाउन
गाउँको हिलाम्य खेतमैं पुर्याएर
देशलाई”” खानाको परनिर्भरता””बाट जोगाउन
स्वयंलाई बेर्ना संगै ,देशभक्तिको कित्तामा रोपौं
छुपुमा छुपु छुपु गर्दै,धान दिवस मनाउँदै।