अभिनेत्री नम्रता श्रेष्ठ आइतवारबाट ३५ वर्षमा प्रवेश गरेकी छन् । चलचित्रमा हरेक प्रकारका भूमिकालाई जीवन्त बनाउन सिपालु मानिने उनले यसपटक आफ्नो जन्मदिन परिवारसँग मनाउँदैछिन् । कोरोना भाइरसका कारण जारी लकडाउनपछि घरभित्रै सीमित रहेकी उनलाई सामाजिक सञ्जालमा चलचित्रकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।
चलचित्र ‘सानो संसार’ बाट अभिनय करिअर सुरु गरेकी नम्रता लभस्टोरी चलचित्रमा सबैभन्दा रुचाइएकी अभिनेत्रीमा पर्छिन् । ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘क्लासिक, ‘प्रसाद’ जस्ता चलचित्रमा जीवन्त अभिनय गरेर दर्शकको मनमा बस्न सफल भएकी उनले आफूलाई निर्मात्रीको रुपमा पनि चिनाइसकेकी छन् । उनले ‘सोल सिस्टर’ र ‘जाइरा’ चलचित्रमा लगानी गरेकी थिइन् ।
पर्दामा दर्शकले उनको जोडी अभिनेता आर्यन सिग्देलसँग रुचाउने गरेका छन् । यी दुईले सहकार्य गरेका चलचित्र बक्सअफिसमा सफल पनि छन् । तर, चलचित्र ‘क्लासिक’ पछि उनीहरुबीच सहकार्य हुन सकेको छैन । त्यस्तै, नम्रताका लागि लक्की निर्देशक दिनेश राउत मानिन्छन् । उनले निर्देशक राउतको एक्सन कटमा चार चलचित्र गरेकी छन्, जसमा तीन फिल्म हिट छन् ।
अभिनेत्री नम्रताको लभ लाइभको पनि सिने नगरीमा निकै चर्चा हुने गरेको छ । प्रेम घले, रेमन श्रेष्ठ, डिजे तान्त्रिकपछि पछिल्लो केही वर्षयता उनी एसियन ट्रेकिङका प्रबन्ध निर्देशक दावा स्टिभन शेर्पासँगको प्रेममा छिन् । नम्रता चलचित्रको छायांकन सेटदेखि सार्वजनिक कार्यक्रममा समेत प्रेमीको साथमा पुग्ने गरेकी हुन्छिन् । तर, उनीहरुले तत्काल विवाहको योजना भने बनाएका छैनन् ।