सरकारले कक्षा १० को अन्तिम परीक्षा एसइईको प्रमाणपत्र जारी गर्ने विधि र प्रक्रियाबारे निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको एसइई परीक्षाको प्रमाणपत्र विद्यालयहरूको अन्तिम मूल्यांकनका आधारमा जारी गर्ने भन्दै त्यससम्बन्धी विधि र प्रक्रियाको समेत निर्णय गरेको हो ।
जसअनुसार विद्यालयले कक्षा १० को यसअघि लिइएको परीक्षालाई आधार मानेर विद्यार्थीको मूल्यांकन विवरण जिल्ला शिक्षा विकास समन्वय इकाइमा पठाउनेछन् । त्यसलगत्तै इकाइहरुले मूल्यांकन विवरण प्रमाणित गरी राष्ट्रिय शिक्षा परीक्षा बोर्डमा पठाउनेछ । त्यसपछि बोर्डले प्रमाणपत्र प्रमाणीकरण, अभिलेखीकरण र प्रकाशनलगायतका काम गर्नेछ ।
एसइईका सम्बन्धमा राष्ट्रिय शिक्षा ऐन, २०२८ को दफा २० को अधिकार प्रयोग गर्दै बाधा अड्काउ फुकाउ आदेश जारी भएको भन्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यससम्बन्धी आदेश तत्कालै राजपत्रमा प्रकाशन हुने बताए ।