शुक्रबार, जेठ ३०, २०७७ || 706  पटक पढिएको

पौवादुङमा गाउँपालिका तरकारी र अण्डामा आत्मानिर्भर बनेको छ । गाउँपालिकाको अधिकांश क्षेत्र सुक्खाग्रस्त भए पनि गाउँपालिकाले किसानलाई प्लाष्टिक पोखरी निर्माणका लागि आर्थिक सहयोग गरेर प्रोत्साहन गरेसँगै गाउँपालिका तरकारीमा आत्मानिर्भर बनेको हो । किसानले वर्षातको पानीलाई पोखरीमा जम्मा गरेर सिँचाइको व्यवस्था मिलाएका छन् । आफ्नो क्षेत्रलाई भौगोलिक आधारमा विभाजन गरेर विभिन्न खाले बालीको पकेट क्षेत्र बनाएर काम गर्ने लक्ष्यका साथ कृषिको क्षेत्रमा लगानी गरिरहेको गाउँपालिकाले जनाएको छ । यसअघिका आर्थिक वर्षमा कृषि क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेर कृषकलाई प्रोत्साहन गरेकाले गाउँपािलका अहिले तरकारीमा आत्मनिर्भर रहेको गाउँपालिका उपध्यक्ष सम्झना राईले जानकारी दिनुभयो । उपाध्यक्ष राईले भन्नुभयो, “हामीले कृषिलाई प्राथमिकतामा राखेर विगतका वर्षहरुमा कृषि क्षेत्रमा लगानी गरेकाले अहिले हामी तरकारी तथा अण्डामा आत्मानिर्भर भएका छौँ, अहिले यहाँ उत्पादन भएको तरकार छिमेकी स्थानीयवासीमा समेत बिक्रीका लागि जाने गरेको छ, धेरै सुक्खाग्रस्त क्षेत्र भएकाले कृषिमा काम गर्न निकै चुनौती थियो, यद्यपि किसानलाई प्लाष्टिक पोखरी निर्माणमा प्रोत्साहन गरेर सिँचाइको व्यवस्था मिलाएका छौँ ।” गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खाग्रस्त क्षेत्रभित्र पर्ने वडा नं ४ बास्तीम, वडा नं ६ ठुलोदुम्मा, वडा नं ५ सानोदुम्मामा किसानले अकबरे खुसार्नी, टमार, बोडी, बन्दा, काउलीलगायतको व्यावसायिकरूपमा खेती गरिरहेका छन् । त्यस्तै गाउँपालिकामा व्यावसायिक कुखुरापालन, बाख्रापालन, मौरीपालनमा लाग्ने किसानको सङ्ख्या पनि धेरै छ । विगतका दिनमा बाहिरी जिल्लामा उत्पादन भएको अण्डामा निर्भर रहँदै आएको गाउँपालिका अहिले आफ्नै ठाउँमा उत्पादन भएको अण्डा अन्य ठाउँमा पठाउन थालेका छन् । गाउँपालिकाले कुखुरा पाल्ने किसानलाई चल्लासँगै अन्य आर्थिक तथा प्राविधिक सहयोग गरेपछि अण्डा उत्पादन वृद्धि भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । स्थानीय किसानले उत्पादन गरेको अण्डाको बजारीकरणमा समेत गाउँपालिकाले सहयोग सहयोग गर्दै आएको छ । गाउँपालिकाले नियमितरूपमा गर्भजाँच गराउने गर्भवतीलाई एकपटक गर्भजाँच गराएवापत एक क्यारेट अण्डा दिँदै आएको जनाएको छ । यसले पनि व्यवसायीलाई अण्डा बिक्री गर्न थप सहजता थपिएको छ । गाउँपालिकाले व्यवसाय सञ्चालनमा अनुदान तथा प्राविधिक सहयोग गरेपछि व्यवसायी निकै उत्साहित छन् । तिवरीभञ्याङका दीपक सुवेदीले सञ्चालन गरेको फार्मबाट मात्र दैनिक एक हजार ८०० अण्डा उत्पादन भइरहेको छ । लकडाउनले होटल व्यवसाय बन्द हुँदा बिक्री वितरणमा केही समस्या भएको व्यवसायीको भनाइ छ । तर गाउँपालिकाले व्यवसायीलाई समस्या नहोस् भनेर ४० प्रतिशत अण्डा आफैँले खरिद गरी दिएको व्यवसायीको भनाइ छ । वडा नं २ तिवारीभञ्याङका व्यवसायी दीपक सुवेदीले भन्नुभयो, “हामीसँग अहिले भोजपुर जिल्लालाई नै धान्न सक्ने अण्डा उत्पादन भइरहेको छ, लकडाउनले होटल बन्द हुँदा बिक्री वितरणमा केही कमी आएको छ तर गाउँपालिकाले उत्पादन गरेको ४० प्रतिशत अण्डा खरिद गरिरहेको छ, यसले धेरै राहत मिलेको छ ।” व्यवसायी अनिता प्रधानले तरकारी तथा अण्डा बिक्रीबाट वार्षिक रु छ लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । प्रधानले भन्नुभयो, “गाउँपालिका दिएको प्रोत्साहनले हामीलाई धेरै सहजता छ, गत वर्ष मात्र मैले तरकारी, खुर्सानी, अण्डा बिक्रीबाट रु छ लाख आम्दानी गरेँ, गाउँपालिकाको कारण हामीलाई व्यवसाय गर्न सहजता छ, पहिला तरकारी किनेर खान्थ्यौँ, बाहिर बिक्रीका लागि बाहिर पठाउँछौँ ।” उत्पादन भएको अण्डाले गाउँपालिकासँगै भोजपुरलाई नै पुग्ने व्यवसायीको दाबी छ । गाउँपालिका सञ्चालनमा आएसँगै व्यवसायमा लाग्न प्रोत्साहन मिलेको स्थानीय व्यवसायीको भनाइ छ । केही वर्षअघिसम्म अण्डामा बाहिर जिल्लाको भरमा बस्नुपरेको अवस्थामा गाउँपालिकाले कृषिको क्षेत्रमा गरेको कामलाई निकै सराहनीय रहेको स्थानीयवासीले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!