
कोरोनाभाइरस (कोभिड–१९) संक्रमित व्यक्तिमा यसअघि सोचेभन्दा लामो समय यो रोगको संक्रमण कायम रहने गरेको पाइएको छ । अमेरिकाको लस एन्जलस काउन्टीस्थित जनस्वास्थ्य निर्देशक डाक्टर बारबारा फेररले शुक्रबार यस्तो जानकारी दिएकी हुन् ।

यसको अर्थ जो व्यक्तिमा संक्रमण देखिन्छ, उनीहरुले पहिले तोकिएभन्दा बढी समय आइसोलेसनमा बिताउनु आवश्यक छ । संक्रमितसँग सम्पर्कमा आएका त्यस्ता, व्यक्ति पनि आइसोलनमा बस्न जरुरी छ, जसमा कुनै लक्षण देखिएको हुन्न ।
कोभिड–१९ संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने र लक्षण देखिएमा आफूलाई आइसोलेट गर्नुपर्नेछ । ‘यदि तपाईँलाई आफू पोजेटिभ छु जस्तो लाग्छ भने तपाईँले चेकजाँच नगराएसम्म अन्य व्यक्तिभन्दा टाढै रहनुपर्छ,’ फेरार भन्छन् ।
उनले पहिलो अनुमान गरेभन्दा लामो समय संक्रमण फैलनसक्ने भएकाले आइसोलेसनको निर्देशिका परिवर्तन गरिएको बताए ।
‘पहिले अनुमान गरिएभन्दा लामो अवधिसम्म पनि एक व्यक्तिले अर्को व्यक्तिमा संक्रमण फैलाउने सामथ्र्य राख्ने रहेछ । हामीले यसअघि पहिलोपटक लक्षण देखिनासाथ कम्तिमा ७ दिन सेल्फ आइसोलेसन बिताउने र ज्वरो वा लक्षण कम भएपछि पनि थप ७२ घण्टा आइसोलेनसमा बस्नुपर्ने निर्देशिका जारी गरेका थियौं । तर यसमा परिवर्तन भएको छ ।’
एलए काउन्टीले पहिलोपटक लक्षण देखिएपछि कम्तिमा १० दिन र ज्वरो वा लक्षण घटेपछिका थप ७२ घण्टा आइशोलेसनमा बस्न निर्देशिका जारी गरेको हो । यसक्रममा ज्वरो घटाउने औषधी प्रयोग नगर्न पनि आग्रह गरिएको छ ।
फेररले स्वास्थ एजेन्सीहरुले भाइरसबारे निरन्तर नयाँ तथ्य पत्ता लगाइरहेको बताए । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले पनि आइसोलेसनबारे आफ्नो निर्देशिका गत साता परिवर्तन गरेको थियो ।
फेरारले लक्षण देखिनासाथ काउन्टीका बासिन्दालाई स्वास्थ्यकर्मी बोलाउन पनि आग्रह गरेका छन् ।
यसअघि कोभिड–१९ का लक्षणहरुमा ज्वरो, खोकी र स्वासप्रश्वासको कमीलाई मात्रै समावेश गरेको सिडिसीले भर्खरै चिसो लाग्नु, चिसोले काम्नु, मांशपेशी दुख्नु, टाउको दुख्नु, घाँटी दुख्नु र स्वाद लिने वा सुँघ्ने सामथ्र्य कम हुनुलाई पनि लक्षणका रुपमा थपेको छ ।