पैदल तथा बसमा सिन्धुपाल्चोक भित्रिनेको सङ्ख्या बढदो छ तर तिनको व्यवस्थित तथ्याङ्क राखिएको छैन । मङ्गलबार र बुधबार धेरै मनिस भित्रिएको बताइए पनि यकिन तथ्याङ्क नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । गाउँ र नगरपालिकाका प्रमुखहरुले दिएको जानकारी अनुसार पछिल्लो साता ५०० भन्दा बढी भित्रिएको देखिन्छ । कोरोना सङ्क्रमण रोक्न गरिएको लकडाउनलाई उल्लङ्घन गर्दै सिन्धुपाल्चोकका गाउँ र नगरपालिकाले राजधानीलगायत ठाउँबाट बस रिजर्भ गरेर जिल्लावासीलाई घर ल्याउन थालेका छन् । अप्ठेरोमा परेका र घर आउन अति आवश्यक ठानिएकाहरुलाई उद्धार गर्नु उपयुक्त ठानिए पनि उनीहरुको व्यवस्थापन सहीरूपमा नहुँदा यसबाट उत्पन्न असहज परिस्थितिप्रति भने सावधानी अपनाइएको छैन । बिहीबार पनि बस चढेर जिल्ला आउने क्रम रोकिएको छैन । सबैभन्दा बढी त्रिपुरासुन्दरी गाउँपालिकामा पाँच बसमा स्थानीयवासी आएको पालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताउनुभयो । “वडा नं ५ र ६ मा गरी पाँच बसमा मानिस भित्रेका छन् । पालिकामा भित्रिने मानिसलाई दुई ठाउँ ड्यामसाइट र सुनकोसीमा स्वास्थ्यकर्मी र प्रहरीसमेत राखेर स्वास्थ्य परीक्षणपछि मात्रै भित्र्याइएको छ”, उहाँले भन्नुभयो । सुनकोसीको वडा नं ५ र ७ मा पनि तीन बसमा स्थानीय आएका छन् तर उनीहरु आएकोबारे आफूलाई केही थाहा नभएको गाउँपालिका अध्यक्ष श्रवण जिसीले बताउनुभयो । लिसंखुपाखरमा पनि तीन बस स्थानीयवासी भित्रेका छन् । मङ्गलबार राति तीन वटा बसमा ९० भन्दा बढी स्थानीयवासी भित्रिएको गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो । आएकामध्ये १५ जना क्वारेन्टाइनमा बसेको उहाँले जानकारी दिनुभयो । उनीहरुको खाने व्यवस्था सबै गाउँपालिकाले गर्ने उहाँको भनाइ थियो । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अहिले कोही नआएको बताउनुभयो । उहाँका अनुसार वडाले समन्वय गरी ल्याउने तयारी भइरहेको छ । पाँचपोखरी थाङ्पालका अध्यक्ष टासी लामाले पछिल्लो दुई दिनमा कोही पालिका प्रवेश नगरेको बताउनुभयो । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले गाडीमा कोही नआएको तर हिँडेर आउनेलाई स्वास्थ्य परीक्षण गरी घरमै एकान्तबास बस्न आग्रह गरिएको बताउनुभयो । यता मेलम्ची नगरपालिकाले पालिका भित्रिनेलाई अनिवार्य क्वेरन्टाइनमा बस्न सूचना जारी गरेको नगरप्रमुख डम्बर अर्यालले बताउनुभयो । बुधबार १९० जना भित्रिएको र उनीहरु अन्य पालिकाका रहेकाले स्वास्थ्य परीक्षण गरी पठाइएको उहाँले बताउनुभयो । राजधानीबाट सामूहिकरूपमा आएका र स्थानीय तहले जथाभावीरूपमा अनुमति दिएर भित्रिएकाहरुबाट सङ्क्रमण फैलिनसक्ने त्रासले हुने खतरालाई न्यूनीकरण गर्न भने खासै चासो दिएको देखिँदैन । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विपद् व्वयवस्थापनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई नै दिइएको बताउनुभयो । “उहाँहरुले के कसरी व्यवस्थापन गरेर ल्याउनुभयो मलाई थाहा छैन”, उहाँले भन्नुभयो । हिँडेरै गाउँ जाने नरोकिएपछि सरकारले लकडाउनलाई केही खुकुलो बनाएको थियो । खुकुलोको मौका छोपेर स्थानीय तहले सूचना नै जारी गरेर जिल्लावासीलाई गाउँ लैजाने जानकारी गराएपछि घर आउनेको सङ्ख्या बढेको हो ।