शुक्रबार, बैशाख १२, २०७७ || 833  पटक पढिएको

दाङ क्षेत्र नम्वर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी हिजोआज राहत वितरणमा व्यस्त हुनुहुन्छ । उहाँले आफ्नै नामबाट ‘मेटमणि राहत कोष’ खडा गरेर राहत वितरणको काम थाल्नु भएको छ । गत चैत ११ गतेदेखि देशभर ‘लकडाउन’ भएपछि उहाँले १८ गतेदेखि नै राहत संकलन र वितरणको काम गर्नुभएको छ । क्षेत्र नम्वर १ का विकट एवम भारतीय सीमा क्षेत्रमा बसोबास गर्ने अतिविपन्न बासिन्दालाई राहत वितरण गरिरहेको उहाँले बताउनुभयो । ‘भारतसँग सीमा जोडिएको कोइलाबास, भौवा, भैसाही, स्वाउलेलगायत गाउँहरुमा आफ्नै पहलमा स्वास्थ्य सामग्री र खाद्य पदार्थ वितरण गरेँ’, उहाँले भन्नुभयो, ‘अब अन्य आधा दर्जन गाउँहरुमा राहत वितरणको तयारी गरेको छु । रकम र राहत सामग्री संकलन भैरहेको छ ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य चौधरीले हालसम्म खाद्य र स्वास्थ्य सामग्री गरी रु १२ लाख बराबरको वितरण गरिसक्नुभएको छ । उहाँले आफ्नै खाताबाट रु एक लाख ५० हजार राहत वितरणमा खर्च गरेको र अन्य रकम आफन्त, साथीभाइबाट जुटाउनुभएको हो । सरकारले एकद्वार प्रणालीमार्फत स्थानीय सरकारलाई मात्रै राहत वितरण गर्ने जिम्मा दिए पनि चौधरी त्यसको बेवास्ता गर्दै एक्लै राहत वितरणमा खटिनुभएको छ । स्थानीय सरकारले प्रत्येक गाउँमा पाँचदेखि सात क्विन्टलसम्म राहत वितरण गरेको र त्यो अपुग भएको हुँदा जनताले तारन्तार फोन गरेर दुःख सुनाउन थालेपछि आफैँ राहत संकलन र वितरणमा खटिएको उहाँ बताउनुहुन्छ । ‘अन्य समयमा निकै नजीक बन्ने र हुनेखानेहरुले पनि विपद्मा साथ दिएका छैनन्’, उहाँले भन्नुभयो, ‘जनताले भोकभोकै प¥यौंँ भनेर दुःख सुनाउँछन् । स्थानीय सरकारले सबैलाई पु¥याउन सकिरहेको छैन, त्यसैले सक्रिय हुनुपरेको छ ।’ नेकपाका सचेतक शान्ता चौधरी पनि अहिले कोरोना महामारीको कारणले सबैतिर समस्या रहे पनि विशेष गरी मजदूरहरुको उद्धारमा लाग्नुभएको छ । ‘सबैका लागि यो महामारी निकै समस्याको घडी हो । जनताको प्रतिनिधि ठानेर सबैले फोन गर्छन्, समस्या सुनाउँछन्, सकेको सहयोग गरेकी छु’, केन्द्रीय सदस्य चौधरीले बताउनुभयो । उहाँले काठमाडौँ, पोखरालगायत ठूला शहरमा दाङबाट काममा गएका मजदूरलाई जिल्ला फर्काउनका लागि पहल थाल्नुभएको छ । दाङबाट निर्वाचित नेकपाका अन्य नेता निवर्तमान सभामुख कृष्णबहादुर महरा र पूर्वमन्त्री रेखा शर्मासँगको समन्वयमा मजदुर उद्धारको काम भइररहेको उहाँले बताउनुभयो । ‘हिजोमात्रै ४५ जनालाई पोखराबाट काठमाडौँ ल्याउन सहयोग गरेँ ’, उहाँले भन्नुभयो, ‘समस्यामा प¥यौंँ भनेर फोन गर्छन्, नजीक भएकालाई आफ्नो गाडी चालकलाई पठाएर सहयोग गरेकी छु, टाढा भएकालाई त्यहाँका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधिसँग समन्वय गरेर राहतको लागि पहल गरेकी छु । छाकै बस्यो, यता पुगेन, उता पुगेन भनेर जनताले दुखेसो गर्दा प्रतिव्यक्ति अवस्था हेरेर रु दुईदेखि पाँच हजारसम्म सहयोग रकम दिएको छु ।’ प्रदेशसभा सदस्य एवम् नेपाली काँग्रेसका नेता डिल्ली चौधरी पनि अहिले राहत र उद्धारको काममा व्यस्त हुनुहुन्छ । तुलसीपुर उपमहानगरले थालेको यात्रुलाई गन्तव्यसम्म पु¥याउने र खाना खुवाउने काममा उहाँले सक्रियता देखाउनुभएको छ । गाउँगाउँमा राहत वितरणको काममा चौधरीको आर्थिक र भौतिक सक्रियता देखिएको छ । यस्तै प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी र राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले पनि राहत वितरणको काममा अगुवाइ गरिरहनुभएको छ । उहाँहरुले पनि आफ्नै व्यक्तिगत रकम र संकलन गरेर राहत वितरण गर्नुभएको छ । जनताले समस्या पर्दा नेतालाई सुनाउने हुँदा आफूहरु सक्रिय हुनुपरेको नेताहरुको भनाइ छ । ‘लकडाउन’का समयमा नेताहरु राहत वितरणमा सक्रिय बनेपछि सामाजिक सञ्जालमा भने आलोचना हुने गरेको छ । स्थानीय सरकारले गर्नुपर्ने काम नेताले व्यक्तिगत रुपमा गरेको र सरकारी संयन्त्रलाई बेवास्ता गर्ने गरेको आरोप तिनलाई आरोप लाग्ने गरेको छ । दाङमा अहिले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक तीन गरी नेकपा र कांग्रेसका ६ केन्द्रीय नेताहरु हुनुहुन्छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६ र समानुपातिकबाट तीन गरी नौ प्रदेशसभा सदस्य हुनुहुन्छ । यस्तै राष्ट्रियसभामा दाङका तीन जनाले प्रतिनिधित्व गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!