कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि अभिनेत्री अदिती बुढाथोकी घरभित्रै सीमित भएकी छन् । लामो समयदेखि भारतको मुम्बई बसेर बलिउड प्रवेशका लागि संघर्ष गर्दै आइरहेकी उनी एक चलचित्रमा अभिनय गर्नका लागि गएको महिना नेपाल आएकी थिइन् । तर, उनी नेपाल आएको केही दिनमा नै देश लकडाउन भयो र उनी घरभित्रै नजरबन्द भइन् । नौं लाखभन्दा बढी फलोअर्स रहेको इन्स्टाग्राममा निकै सक्रिय रहने अदिती दैनिकजसो आफ्ना ‘हट एण्ड बोल्ड’ तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । उनले लकडाउनमा वर्कआउट गरेर आफ्नो शरीरलाई फिट राख्न सल्लाह दिएकी छन् । अदितीले वर्कआउट गर्दै गरेको तस्विरसँगै क्याप्सनमा लेखेकी छन्, ‘घरमा हरेक दिन वर्कआउट गर्ने कोशिश गर्नुहोस् र फिट रहनुस् । म सबैलाई ध्यान गर्न पनि सल्लाह दिन्छु ।’ स्वास्थ्यमा विशेष ध्यान दिने उनले लकडाउनका कारण जिम जान नपाएपछि घरभित्रै वर्कआउट गर्ने गरेकी छन् ।लकडाउनको समयमा भने उनले घरभित्रै खिचेका तस्विरहरु पोस्ट्याउने गरेकी छन् । बिहीवार उनले घरको छतमा वर्कआउट गरिरहेको आफ्ना केही तस्विरहरु शेयर गरेकी थिइन् । जसमा उनको शरीर निकै फिट देखिएको छ । कोरोनाको त्रास सामान्य भएपछि अभिनेत्री अदिती बुढाथोकीले निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको चलचित्रमा काम गर्नेछिन् । यसमा उनको जोडी युवापुस्ताका लोकप्रिय गायक नितेशजंग कुवँरसँग बाँधिएको छ । चलचित्रको बैशाख पहिलो साताबाट छायांकन सुरु गर्ने तयारी थियो । अभिनेत्री अदितीले चलचित्र ‘कृ’ पछि अभिनयमा कमब्याक गर्न लागेकी हुन् ।