
काठमाडौं– पछिल्लो समय आन्दोलन, आगजनी तथा चुनावी प्रचारप्रसारमा राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएको भन्दै सरोकारवाला निकायले गम्भीर चासो व्यक्त गरेका छन्। जेन–जी आन्दोलनका क्रममा संसद् भवन र राष्ट्रपति कार्यालय ‘शीतल निवास’ जलाउन गएकाहरूले समेत काँधमा राष्ट्रिय झण्डा बोकेको दृश्य सार्वजनिक भएपछि यो विषय थप चर्चामा आएको हो।

राष्ट्रिय सम्पत्तिमाथिको आगजनी तत्कालीन सरकारविरुद्धको विरोध भनिए पनि राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधिले यसलाई दुरुपयोगको रूपमा व्याख्या गरेको छ। कार्यविधिअनुसार राष्ट्रिय झण्डा मर्यादा र सम्मान कायम हुने गरी मात्र प्रयोग गर्न पाइने स्पष्ट व्यवस्था छ।
संविधानविद् भीमार्जुन आचार्यले सामाजिक सञ्जालमार्फत राष्ट्रिय झण्डालाई कपडाजस्तै प्रयोग गरिएको भन्दै कडा आपत्ति जनाएका छन्। उनले राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, आगजनी गर्ने तथा मत माग्ने कार्य निषेधित भएको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
यसै विषयमा नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले पनि आचार्यको भनाइ सान्दर्भिक रहेको भन्दै राष्ट्रिय झण्डा कुनै दलको प्रचार सामग्री वा पहिचान हुन नसक्ने स्पष्ट पारेका छन्। उनले राष्ट्रिय झण्डाको टोपी, साडी, सर्ट, ज्याकेट जस्ता पोसाक बनाइनु र झण्डा बोकेर हिंसात्मक गतिविधि हुनु राष्ट्रकै अपमान भएको बताएका छन्।
नेपाल राजपत्रमा प्रकाशित ‘राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधि, २०७९’ अनुसार झण्डा च्यात्न, जलाउन, उल्टो राख्न, व्यापारिक विज्ञापनमा प्रयोग गर्न तथा शरीरको छातीभन्दा तलका कपडामा झण्डाको प्रतिक राख्न निषेध गरिएको छ।
यसैबीच गृह मन्त्रालयले राष्ट्रिय झण्डाको गरिमा र मर्यादाविपरीत प्रयोग भए कानुनी कारबाही गरिने चेतावनी दिएको छ। मुलुकी अपराधसंहिता, २०७४ अनुसार राष्ट्रिय झण्डाको अपमान गर्नेलाई सजायको व्यवस्था गरिएको छ।
निर्वाचन आयोगले पनि चुनावी प्रचारमा राष्ट्रिय झण्डाको दुरुपयोग बढेको भन्दै उम्मेदवार तथा दललाई जुलुस वा सभामा बढीमा १० वटा झण्डा मात्र प्रयोग गर्न निर्देशन दिएको छ। तोकिएको सीमा उल्लङ्घन भए कानुनी कारबाही हुने आयोगले स्पष्ट पारेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पछिल्लो समय सामाजिक सञ्जाल र सार्वजनिक गतिविधिमा झण्डाको दुरुपयोगबारे गुनासो बढेकाले अब निगरानी कडा बनाइने बताएका छन्। उनले राष्ट्रिय झण्डा राष्ट्रप्रेम र नैतिकतासँग जोडिएको विषय भएकाले मर्यादित प्रयोग आवश्यक रहेको बताए।