
काठमाडौं– आज माघे सङ्क्रान्ति पर्व देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। माघे सङ्क्रान्ति नेपाली समाजमा सांस्कृतिक, धार्मिक र सामाजिक दृष्टिले विशेष महत्व राख्ने पर्वका रूपमा चिनिन्छ।

हरेक वर्ष माघ १ गते मनाइने यस पर्वसँगै पुस महिनाको कठोर जाडोको अन्त्य र माघ महिनाको सुरुवात हुने विश्वास गरिन्छ। यस दिन सूर्य उत्तरायण प्रवेश गर्ने भएकाले स्नान, जप, तपस्या, ध्यान तथा दानलाई विशेष पुण्यदायी मानिने परम्परा छ।
माघे सङ्क्रान्तिको अवसरमा मगर समुदायले काठमाडौँमा भव्य सांस्कृतिक र्याली निकालेका छन्। मगर जातिको पहिचान झल्किने परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र बाजागाजासहित निकालिएको र्यालीले राजधानीको माहोल उल्लासमय बनेको छ।
र्यालीमार्फत मगर समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानको प्रवर्द्धन गर्दै माघे सङ्क्रान्तिको सन्देश फैलाएका छन्।
