
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची ढिलोगरी निर्वाचन आयोगमा बुझाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई निर्वाचन आयोगले मान्यता नदिएपछि बन्दसूची बुझाउन ढिलाइ भएको हो।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार मंगलबार बिहान निर्वाचन आयोगमा बन्दसूची बुझाइएको हो। ‘केही प्राविधिक विषय मिलाउनुपर्दा ढिलाइ भयो। मंगलबार बिहान आयोगमा बन्दसूची बुझायौँ,’ उनले जानकारी दिए।
निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउने समय दिएको थियो। कांग्रेसले तोकिएको समयभित्र शुल्क तिरेर भौचर काटे पनि बन्दसूची भने मंगलबार बिहान मात्रै बुझाएको हो।
सोमबार दिउँसो पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा समानुपातिक सूची बुझाउन निर्वाचन कार्यालय पुगेका थिए। तर सूचीमा समेटिएका नाम हेरफेर र प्राविधिक विषय मिलाउने क्रममा ढिलाइ भएको प्रवक्ता महतले बताए।
समानुपातिक सूचीमा राखिएको सभापति देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिएपछि रातिमै सूची तयार भए पनि बिहानमात्रै बुझाइएको हो। आयोगले डिजिटल हस्ताक्षर अस्वीकार गरेपछि मंगलबार बिहान कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल सभापति देउवाको महाराजगन्जस्थित निवास पुगेर हस्ताक्षर गराएका थिए। देउवाले हस्ताक्षर गरेपछि बन्दसूची आयोगमा बुझाइएको हो।
कांग्रेसले २०६४ सालयता समानुपातिक प्रणालीबाट सांसद बनेका कसैलाई पनि यसपटकको सूचीमा समेटेको छैन। पार्टीका अनुसार बन्दसूचीमा पाँच प्रतिशतभन्दा बढी ‘जेन–जी’ पुस्ताको प्रतिनिधित्व गरिएको छ। उम्मेदवार छनोटमा संस्थापन पक्षलाई ६० प्रतिशत र इतर पक्षलाई ४० प्रतिशतको भागबन्डा मिलाइएको छ।
कांग्रेसको समानुपातिक सूचीमा सहमहामन्त्री भीष्मराज आङदेम्बे पनि समेटिएका छन्। समानुपातिकतर्फको ११० सिट कांग्रेसले प्रादेशिक जनसंख्याको अनुपातमा बाँडफाँट गरेको छ। जसअनुसार कोसीबाट १८, मधेशबाट २१, बागमतीबाट २२, गण्डकीबाट ११, लुम्बिनीबाट १७, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० जना उम्मेदवार राखिएको छ।