
काठमाडौं– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने आज अन्तिम दिन भएकाले निर्वाचन आयोगमा चटारो देखिएको छ।
कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा बिहानैदेखि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको आवतजावत बढेको छ। आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची दर्ता गर्न हिजो र आज गरी दुई दिनको समय तोकेको थियो।
तर, समयसीमा समाप्त हुनै लाग्दा पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता ठूला दलहरूले हालसम्म बन्द सूची बुझाएका छैनन्।
निर्वाचन आयोगका अनुसार तोकिएको समयभित्र सूची नबुझाएमा कानुन बमोजिम आवश्यक कारबाही गरिनेछ। यद्यपि, केही साना तथा क्षेत्रीय दलहरूले भने समयमै आफ्नो बन्द सूची दर्ता गराइसकेका छन्।
आज कार्यालय समय समाप्त भएसँगै बन्द सूची बुझाउने समयसीमा सकिने भएकाले ठूला दलहरू अन्तिम घडीमा आयोग पुग्ने सम्भावना रहेको आयोग स्रोतले जनाएको छ।
