फ्लोरिडा– झण्डै चार वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीच आइतबार भेटवार्ता हुने भएको छ। दुवै नेताले फ्लोरिडाको पाम बीचस्थित ट्रम्पको निजी क्लब मार–ए–लागोमा छलफल गर्ने तय भएको छ।

युक्रेनी राष्ट्रपति कार्यालयका अनुसार भेटमा सुरक्षा ग्यारेन्टी, आर्थिक सहयोग र क्षेत्रीय विषयमा केन्द्रित रहेर छलफल हुनेछ। विशेषगरी पूर्वी युक्रेनको डोनबास क्षेत्रको भविष्य वार्ताको मुख्य एजेन्डा रहनेछ। पछिल्ला दिनमा रुसले किएभमाथि मिसाइल तथा ड्रोन आक्रमण तीव्र पारेको पृष्ठभूमिमा यो भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत युक्रेन युद्ध अन्त्य गर्न तयार रहेको तर वार्तामा बलियो स्थितिमा रहनुपर्ने बताएका छन्। उनले युरोप र अमेरिका एकजुट भए युद्ध रोक्न सकिने दाबी गरेका छन्।

यसैबीच, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग नोभा स्कोटियामा भएको भेटमा जेलेन्स्कीले रुसमाथि दबाब र युक्रेनलाई निरन्तर समर्थन नै शान्तिको आधार भएको बताए। कार्नीले युक्रेनको पुनर्निर्माणका लागि थप २ अर्ब ५० करोड क्यानेडियन डलर सहयोग घोषणा गरेका छन्।

अमेरिकी मध्यस्थतामा अघि बढाइएको शान्ति प्रयासमा प्रगति भएको दुवै पक्षले जनाएका छन्। जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति प्रस्तावको मस्यौदा करिब अन्तिम चरणमा पुगेको छ। युक्रेनले पर्याप्त सुरक्षा ग्यारेन्टी पाए भविष्यमा नाटो सदस्यता खोज्ने प्रयास त्याग्न सक्ने संकेत पनि दिएको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिका–रुसबीच सम्पर्क जारी रहेको पुष्टि गरेका छन्। यद्यपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कब्जामा रहेका चार क्षेत्र र क्रिमियालाई रुसको भूभागका रूपमा मान्यता दिनुपर्ने अडान कायमै राखेका छन्, जसलाई युक्रेनले अस्वीकार गर्दै आएको छ।

आइतबार हुने ट्रम्प–जेलेन्स्की भेटलाई युद्ध अन्त्यतर्फको सम्भावित निर्णायक मोडका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!