काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’बीच शनिबार राति ७ बुँदे सहमति भएको छ। लगातारको छलफलपछि भएको उक्त सहमतिलाई आगामी निर्वाचनपछिको राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ, जसका कारण सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ।

विशेषगरी सहमतिमा भावी प्रधानमन्त्रीको भूमिकासम्बन्धी सन्दर्भ समेटिएको दाबी भएपछि यसले थप ध्यान तानेको छ। सहमतिपछि रास्वपा र बालेन समर्थकहरूले यसलाई ‘परिवर्तनको सुरुआत’ भनेका छन् भने आलोचकहरूले यसलाई अपरिपक्व र जोखिमपूर्ण राजनीतिक प्रयोगको संज्ञा दिएका छन्।

रवि–बालेनबीचको वार्तामा रास्वपाका तर्फबाट डा. स्वर्णिम वाग्ले, शिशिर खनाल, डीपी अर्याल, असीम शाह र आसिफ शाह सहभागी थिए। बालेनको पक्षबाट कुमार व्यञ्जनकार, भूपदेव शाह, सुदीप ढकाल र सुनिल लम्साल सहभागी थिए। वार्तामा चलचित्र निर्देशक निश्चल बस्नेत र सामाजिक अभियन्ता केपी खनाल साक्षीका रूपमा उपस्थित थिए।

यस सहमतिलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरूले आ–आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन्। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत रवि र बालेनप्रति कडा टिप्पणी गर्दै उनीहरूलाई ‘विदेशी दलाल’को संज्ञा दिएका छन्। उनले सिंहदरबार जलाउने चेतावनी दिने अभिव्यक्तिसमेत दोहोर्‍याएका छन्।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले भने रवि–बालेनको सहमतिलाई सकारात्मक सन्देशका रूपमा व्याख्या गरेका छन्। उनले राजनीतिक दलहरूबीच विश्वास र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबैले जिम्मेवारी लिन सक्नुपर्ने बताएका छन्।

नेकपा एमालेका नेता महेश बस्नेतले बालेनको स्वतन्त्र छवि यस सहमतिपछि कमजोर बनेको दाबी गरेका छन्। उनले भूराजनीतिक स्वार्थअनुसार नेपाललाई अस्थिर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै रवि–बालेनको भूमिकामाथि प्रश्न उठाएका छन्।

रास्वपाकी नेतृ तोसिमा कार्कीले भने आगामी राजनीतिक परिवर्तनको केन्द्र रास्वपा हुने दाबी गरेकी छन्। उनले वैकल्पिक शक्तिहरूलाई ‘घण्टी’ चुनाव चिह्नमा गोलबद्ध हुन आह्वान गरेकी छन्।

एमाले नेता गोकुल बाँस्कोटाले व्यंग्यात्मक टिप्पणी गर्दै रवि र बालेनको सहकार्यपछि अन्य पात्रहरू पनि जोडिन सक्ने संकेत गरेका छन्। समाजशास्त्री निर्मला ढकाल, पत्रकार स्मृति मल्ल, अधिवक्ता सरिता तिवारीलगायतले पनि सहमतिलाई लिएर आलोचनात्मक धारणा सार्वजनिक गरेका छन्। उनीहरूले लोकतान्त्रिक मूल्य, समावेशिता र भावनामाथि खेलवाड भइरहेको तर्क गरेका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समेत रवि–बालेन सहमतिलाई लिएर मिश्रित प्रतिक्रिया जनाइरहेका छन्। कसैले यसलाई नयाँ राजनीतिक विकल्पको सुरुआत मानेका छन् भने कसैले विगतका आन्दोलन र अस्थिरतासँग तुलना गर्दै आशंका व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!