
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअन्तर्गत उम्मेदवार नबन्ने स्पष्ट पारेकी हुन्।

नेतृ भुसालले ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको उम्मेदवारीको प्रस्ताव स्वीकार नगरेको जनाउँदै प्रस्ताव गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छिन्। ‘फागुन २१ मा हुने निर्वाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा उठ्न आएका प्रस्तावहरू मैले स्वीकार गरिनँ,’ उनले लेखेकी छिन्।
तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला नेतृ आफू रहेको उल्लेख गर्दै भुसालले काठमाडौं उपत्यकाजस्तो जटिल निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेर जित हासिल गर्नु अत्यन्त चुनौतीपूर्ण हुने बताएकी छिन्। उनले त्यसलाई ‘फलामको चिउरा चपाउनुजस्तै’ भन्दै वर्णन गरेकी छिन्।
आगामी निर्वाचनमा उम्मेदवारी दिनेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेकाले यस विषयमा स्पष्ट निर्णय सार्वजनिक गरेको बताउँदै भुसालले भनिन्, ‘मैले यसपटक प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु।’
दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको र पटक–पटक मन्त्री भएर काम गर्ने अवसर पाइसकेकाले अब आफूले हासिल गरेको राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्ने निष्कर्षमा पुगेको उनले उल्लेख गरेकी छिन्।