
काठमाडौं — नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रलाई तत्काल विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्तासमेत रहेका तिवारीले शुक्रबार प्रेस नोट जारी गर्दै तोकिएको समयमा नियमित महाधिवेशन हुने कुनै स्पष्ट आधार नदेखिएको बताएका छन्। यसप्रति उनले पार्टी नेतृत्वसँग गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
उनका अनुसार भदौ २३ र २४ को राजनीतिक घटनाक्रमपछि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस २६–२८, २०८२ मा महाधिवेशन गर्ने निर्णय गरे पनि पुस ११ सम्म आइपुग्दा उक्त कार्यतालिका कार्यान्वयन हुने कुनै संकेत देखिएको छैन।
पार्टी प्रवक्ताबाटै नियमित अधिवेशन तोकिएको अवधिमा हुन नसक्ने संकेत आएको उल्लेख गर्दै तिवारीले यसलाई पार्टीभित्र परिवर्तनको माग गरिरहेका बहुसंख्यक महाधिवेशन प्रतिनिधिमाथिको अपमानका रूपमा व्याख्या गरेका छन्। उनले पार्टी नेतृत्वको निष्क्रियताले विशेष महाधिवेशनको मागलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप पनि लगाए।
‘नियमित अधिवेशनको नाममा सार्वजनिक गरिएको कार्यतालिका विशेष महाधिवेशनको आवाज दबाउन गरिएको छलछामबाहेक केही होइन,’ तिवारीको भनाइ छ।
उनले ‘रकेट गति’मा महाधिवेशन सम्पन्न हुने दाबी गरिएको कार्यतालिकामा विश्वास गर्नु कार्यकर्ताहरूको गम्भीर भूल भएको टिप्पणी गरेका छन्।
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेका कार्यकर्ताहरू अब चुप लागेर बस्न नसक्ने चेतावनी दिँदै तिवारीले आवश्यक परे केन्द्रीय कार्यालय घेर्नेसम्मको आन्दोलनमा उत्रन आह्वान गरेका छन्।